१८ औँ नाम सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान जाँदै

१८ औँ नाम सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुको १८ औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य छिन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले आइतबार जनाएको छ ।

प्रधानमन्त्री ओलीले कात्तिक ९ गते शनिबार नाम शिखर सम्मेलन अन्तर्गत हुने उच्चस्तरीय छलफलमा भाग लिई ‘समसामयिक विश्वका चुनौतीहरुलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि नामका बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कनेछ ।
राजधानीबाट

Logo