प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

केन्द्रबिन्दु
0
Shares

हेटौंडा,

बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्ग मार्फत जोड्ने तयारीलाई तीव्र पारेको हो।

सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन ।

तर यस वर्ष भने कानूनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैँले केन्द्र र स्थानीयतहसँग समेत सहकार्य गर्नेगरी काम शुरु गरेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार आगामी तीन महीनाभित्र बोलपत्रसमेत आह्वान गर्ने तयारी भइसकेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने परियोजना निर्माणका लागि १२ अर्बसम्म लगानी लाग्ने अनुमान गरिएको छ।

भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनु भएका मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीहरुसमेत सुरुङमार्ग निर्माणको पक्षमा छन् ।

प्रदेशको गौरवको आयोजनासमेत भएकाले सरकारको यही कार्यकालमा सम्पन्न हुनेगरी काम थालनी गर्ने तयारी गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए । प्रदेश नं ३ को राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको मुख्यमन्त्री पौडेलको भनाइ छ।

नेपालको दीर्घकालीन विकासको कोसेढुङ्गा हुने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको उनी बताउँछन् । उनका अनुसार मार्ग कुन ढाँचामा निर्माण गरिने भन्ने प्राविधिक तयारी सकिएको छ। हाल भीमफेदीदेखि सिस्नेरीसम्म साढे तीन किलोमिटर सुरुङ खनिने तथा हेटौँडा–भीमफेदी सडक र सिस्नेरी काठमाडौँलाई फराकिलो बनाइने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए।

सुरुङमार्ग निर्माणपछि हेटौँडा–काठमाडौँको झञ्झटिलो र घण्टौँको यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौँसम्मको यात्रा अवधि तथा आर्थिक बचतसमेत गराउने उनको विश्वास छ। सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ।

Skip This
Skip This
Logo