“कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन”- प्रचण्ड

“कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन”- प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गरेका छन् ।

नेकपा चितवनले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनमा कहीँकतैबाट खतरा नभई हामी आफैँबाट खतरा हुनसक्ने बताए  । सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको भन्दै उनले भने, “हामी बिग्रियाँ भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन सजिलै सोभियत सङ्घ जस्तै खतरा हुन्छ ।”

पछिल्लो समय आफू सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उनले थपे, “कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन तर हामी आफैँले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौँ ।” प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्र्याइँ, लापरवाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएका छैनौँ उनले प्रश्न गरे ।

दाहालले कहिलेकाहीँ क्रान्तिको केन्द्र ठिक ढङ्गले पार्टी, नेता र कार्यकर्ताले आत्मसात् गर्न सकेनन् भने त्यो प्रतिक्रान्तिको खतरा हुने बताए । प्रतिगामी खेल्ने ठाउँ चितवन बनेको भन्दै उनले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गरे ।

चिनियाँ राष्ट्रपतिले त्यहाँका कम्युनिष्ट नेता कार्यकर्ताको अनुशासनका बारेमा सुनाउँदा आफूलाई यहाँको अवस्था देख्दा अप्ठ्यारो महसुस भएको बताए ।

Skip This
Skip This
Logo