टोकियो,
जापानको राजधानी टोकियो लगायतका स्थानमा आएको ‘हागिबिस’ आँधीका कारण २५ जनाको मृत्यु भएको छ। आँधीपछि करिब १५ जना हराइरहेका अधिकारीले बताएका छन्।
आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीमा बाढी आएको र नदीको पानी बस्तीमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो। ‘आँधीका कारण ३ लाख ७६ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको, १४ हजार घरमा खानेपानीको अभाव भएको छ’, प्रमुख सचिव योशिहिदे सुगाले भने।
उद्धारकर्ताले दिएको जानकारी अनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्ती डुबानमा परेका छन् । सरकारले आँधीपछि २७ हजार स्वयंसेवकलाई उद्धार र राहतका लागि खटाएको जनाएको छ। भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ।
हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । हालैका वर्षमा यो निकै शक्तिशाली आँधी हो। यो आँधी प्रतिघण्टा २१६ किलोमिटर भन्दा बढीको वेगमा थियो।
स्थानीयहरूले आँधी विगत ५० वर्ष यताकै शक्तिशाली भएको बताएका छन् । आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको छ । अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका शहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेका छन्।
मन्त्रालयका अनुसार कतिपय बस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्धारका लागि घरका तलाबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन्।
एजेन्सी































प्रतिक्रिया