एजेन्सी । जापानमा आएको आँधीका कारण जनजीवन निकै प्रभावित बनेको छ । ६० वर्षयताकै ठूलो आँधीका कारण कम्तीमा ५ जनाको ज्यान गइसकेको छ । भने ९० बढी घाइते भएको छ । आँधीपछि वर्षा र पहिरोका कारण जापानको अधिकांश स्थानको जनजीवन प्रभावित बनेको छ ।

राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा र पहिरो निम्त्याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

इगु प्रायद्वीपबाट सुरु आँधी अहिले पूर्वी तटमा रहेको जापानको मुख्य टापुतर्फ बहिरहेको छ । आँधीको गति अहिले २२५ किलोमिटर प्रतिघण्टा छ । आँधीका कारण २ लाख ७० हजार घरको विद्युत् सेवा अवरुद्ध भएको छ । हवाई तथा सडक आवागमन पनि प्रभावित पारेको छ ।

शक्तिशाली आँधीले थप मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने आकलन गर्दै जापान सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको छ । आँधी प्रभावित क्षेत्रका ५० हजार मानिसले घर छाडेर सुरक्षित स्थानमा आश्रय लिइरहेका छन् ।






























प्रतिक्रिया