पोखरा,
पश्चिमाञ्चल होटल सङ्घ पोखराले नेपाल भारत सिमास्थित बेलहिया नाकामा असोज १९ गते भएको भारतीय पर्यटकमाथिको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेको छ ।
सङ्घका अध्यक्ष विकल तुलाचनद्वारा आज जारी विज्ञप्तिमा नेपाल प्रवेश गर्दै गरेका भारतीय पर्यटकमाथि नेपाली पक्षबाट दुर्व्यवहार भएको भनी विभिन्न सञ्चारमाध्यममा आएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
पशुपति दर्शनका लागि लखनउबाट आएका झण्डै एक दर्जन भारतीय पर्यटकले सीमामा आफ्नो सवारीसाधन पार्किङ गरे बापत दुई सय रुपैया तिरेको तर त्यस बापत नेपाली व्यवसायीसँग रसिद माग्दा उल्टो पर्यटकलाई दुर्व्यवहार गरिएको र प्रहरीचौकी छिर्दा समेत आक्रमण गरिएको भन्ने समाचार अहिले केही भारतीय प्रिन्ट र अनलाइन सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।
भारतीय टेलिभिजन च्यानल दूरदर्शनसँग सम्बन्धित पाहुनासमेत संलग्न पर्यटक समूहमाथि भएको घटना सम्बन्धमा सत्यतथ्य जाँचबुझ गरी दोषीलाई तत्काल कारवाही गर्न सङ्घले सरकारसँग माग गरेको छ ।
बीस लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यकासाथ घोषित नेपाल भ्रमण वर्ष २०२० शुरु हुन तीन महीना पनि बाँकी नहुँदा भारतीय पाहुनामाथि भएको यस्तो व्यवहारले पर्यटन र दुई पक्षीय सम्बन्धमा नै नकारात्मक असर पर्ने बताउँदै सङ्घले पाहुनामाथि हुने कुनै पनि दुर्व्यवहार मान्य नहुने बताएको छ ।
लखनउ लगायत उत्तर भारतका थुप्रै शहरमा सङ्घले विगत १२ वर्ष अघि देखि भारतीय पर्यटक नेपाल भित्र्याउन सञ्चालित चलिए पोखरा अभियानको सकारात्मक प्रभाव परिरहेको उल्लेख गर्दै सङ्घले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । भविष्यमा यस प्रकारका घटना नदोहो¥याउन सचेत रहनसमेत सङ्घले सम्बन्धित सबैसँग आग्रह गरेको छ ।































प्रतिक्रिया