आकर्षक पर्यटकीय गन्तव्यः बाली (भिडियो रिपोर्ट)

आकर्षक पर्यटकीय गन्तव्यः बाली (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । बाली विश्वकै चर्चित पर्यटकीय गन्तव्य हो । भारतीय, चिनियाँ तथा विशेष गरी हिन्दू संस्कृतिबाट अनुप्राणित बाली पुग्दा नेपालीहरूले अपनत्व महसुस गर्ने थुप्रै कुराहरू पाउन सक्छन् । समुद्रले नछोएको देश नेपालका नागरिकहरूले बाली टापुमा गएर नयाँ एवं अविस्मरणीय अनुभव सँगाल्न सक्छन् । तसर्थ बाली नेपाली पर्यटकहरूबीच लोकप्रिय बन्दै छ । दशैंको आगमनसँगै घुम्न निस्कने प्रचलन बढ्दै गइरहेको सन्दर्भमा बाली नेपालीहरूका लागि उत्कृष्ट गन्तव्य बन्नसक्छ । र, अहिले प्राकृतिक सौन्दर्यले भरिपूर्ण बाली नेपाली पर्यटकहरूको पहिलो रोजाइमा पर्न थालेको छ ।

बाली एक इन्डोनेसियाली टापु तथा प्रदेश हो । बाली प्रदेशमा बाली टापु तथा नजिकैका अन्य नुसा पेनिदा, नुसा लेम्बोङान र नुसा चेनिङानजस्ता साना टापुहरू समेत पर्दछन् । बालीको पश्चिममा जाभा टापु र पूर्वमा लोम्बक टापु रहेका छन् । यसको राजधानी सहर देन्पासर टापुको दक्षिणमा रहेको छ ।

इन्डोनेशियाली हिन्दू अल्पसङ्ख्यकहरूको बाहुल्य भएको बालीमा सन् २०१० मा गरिएको जनगणनाअनुसार ३८ लाख ९० हजार सात सय सन्ताउन्न मानिसहरू बसोबास गर्दछन् । सन् २०१४ को जनवरीमा बालीको जनसङ्ख्या करिब ४२ लाख २५ हजार पुगेको अनुमान गरिएको थियो । सन् २०१० को जनगणनाअनुसार बालीमा कुल जनसङ्ख्याको ८३ दशमलव ५ प्रतिशत हिन्दू, १३ दशमलव ४ प्रतिशत मुस्लिम, २ दशमलव ५ प्रतिशत क्रिस्चियन र शून्य दशमलव ५ प्रतिशत बौद्ध धर्मावलम्बी छन् ।

बाली धेरै पुरानो टापु हो । विश्व प्रख्यात पर्यटकीय गन्तव्य बन्न सफल यस टापुमा सन् १९८० को दशकदेखि पर्यटकहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइन्छ । यहाँको करिब ८० प्रतिशत व्यापारव्यवसाय पर्यटनसँग सम्बन्धित छ । यो बाली टापु पराम्परागत तथा आधुनिक नृत्य, मूर्तिकला, चित्रकला, मनमोहक मन्दिर, छाला तथा धातुका सामग्रीहरू तथा सङ्गीतजस्ता उच्चकोटीका कला तथा कला सामग्रीहरूका लागि प्रख्यात छ ।

प्रत्येक वर्ष आयोजना गरिने इन्डोनेसियाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बालीमा नै आयोजना गरिन्छ । सन् २०११ के आसियान सम्मेलन, सन् २०१३ को एपेक बैठक तथा सन् २०१३ को मिस वल्र्ड प्रतियोगिता दालीमा आयोजना गरिएका थिए । सन् २०१७ मा विश्व प्रसिद्ध ट्रिप एडभाइजरले बालीलाई विश्वको सबैभन्दा उत्तम पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको थियो ।

बाली टापु अति उच्च जलचर जैविक विविधता भएको क्षेत्र कोरल त्रिकोणको एक भाग हो । यो क्षेत्रमा मात्रै ५०० भन्दा बढी प्रजातिका खपटा हुने जीवहरू पाइन्छन् । तुलनात्मक रूपमा भन्दा यो सङ्ख्या पूरै क्यारेबियाली क्षेत्रमा पाइने जीवहरूभन्दा सात गुणा बढी छ । बाली जंगल, ज्वालामुखी पहाडहरू, समुद्री तट र कोरल चट्टानहरूको लागि पनि प्रसिद्ध छ । दक्षिणमा कुटाको समुद्रीतट शहरमा बारहरू छन् । बालीमा सेमिन्याक, सानुर, नुसा दुआजस्ता लोकप्रिय रिसोर्टहरू छन् ।

बालीमा धार्मिक ठाउँहरू पनि थुप्रै छन् । चट्टान उलुवाटु मन्दिर यहाँको एक चर्चित मन्दिर हो । त्यस्तै गरी बालीका अन्य आकर्षक पर्यटकीय ठाउँहरू कुटा, सेमिनयाक, गरुड विष्णु, केन्काना स्मारक, तनाह लट टेम्पल, बेसाकी टेम्पल, पेमुतेरान, कुता बिच, जिम्बारान बिच, लोभिना बिच, लिम्पुयाङ्ग मन्दिर, गेट्स अफ हेभन, तेगालाङ्ग राईस टेरेस, उबुद मंकी टेम्पल, सनसेट डिनर क्रुज, कुता नाइट मार्केट, किन्तामणी टुर, उबुद मंकी फरेस्ट आदि छन् ।

त्यस्तै क्याटाम्यारान क्रुज, सनुर बिच, सेमिन्याक, नेटिभ वाइल्डलाइफ स्पोटिङ, वाटरबुम, रोप स्वीङ्ग राइड, बाली स्वीङ्ग, माउन्ट वटुर, उलुन दानु ब्रटान मन्दिर, तीर्थ इम्पूल, बेसाकी टेम्पल, गितगित वाटरफल, गोआ गाजाँ, म्यूजियम पुरी लुकीसान पनि दर्शनीय स्थल हुन् । यसैगरी पुरा गनुङ्ग कवी, रिफ डाइभिङ, माउन्ट अगुङ, बाली जू, नुसा पेनिदा, फिन्स बीच क्लब, केवन राया, वेस्ट बाली नेसनल पार्क, पान्दावा बीच, तामन नुसा, तामन केर्था गोसा, मंकी फरेस्ट रोड, नुसा लेम्बोगेन एवं परम्परागत झाँकीहरूले पनि पर्यटकहरूलाई लोभ्याउँछन् ।

अहिले बाली नेपालीहरूको लोकप्रिय भ्रमण गन्तव्य बनेको छ । नेपालीहरू विशेषतः बिदा मनाउन, हनिमुन मनाउन, परिवारसँग भ्रमण गर्न र रमाइलो गर्नका लागि बाली जाने गरेका छन् । नेपालीहरूको महान् चाड दशैंको समयमा धेरैले आफ्नो गन्तव्य बालीलाई बनाएका छन् ।

दशैंको समयमा प्रायः नेपालीहरूको फुर्सद मिल्ने हुनाले पनि नेपालीहरू बाहिर घुम्न निस्किने गर्दछन् । अहिले दशैं विदालाई सदुपयोग गर्ने र जीवनकै एक उत्कृष्ट अनुभव सँगाल्ने अवसरका रूपमा धेरैको नजर बालीतिर सोझिएको छ । बालीमा पुगेपछि नेपालीहरू यी ठाउँहरू घुम्न छुटाउँदैनन् । थप तलको भिडियो रिपोर्टमाः

Skip This
Skip This
Logo