फेला पर्‍यो ८० करोड वर्ष पुरानो हीराभित्र घुम्ने अर्को अनौठो हीरा

फेला पर्‍यो ८० करोड वर्ष पुरानो हीराभित्र घुम्ने अर्को अनौठो हीरा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । हीरा, उत्कृष्टताको पर्याय । सदैव विशिष्ट अनि विशेष । यो संसार हीराको चमकको प्रशंसक रहिआएको छ । हीराप्रेमीहरूका लागि खुसीको खबर आएको छ रुसबाट । रुसको एक खानीमा अहिलेसम्मकै अनौठो हीरा फेला परेको छ । दावी गरिएअनुसार संसारमा यस्तो प्रकारको हीरा पहिले कहिल्यै पाइएको थिएन । यसको विशेषता के छ भने यो हीराभित्र अर्को एक हीरा छ । भित्रपट्टि रहेको हीरा बाहिरको हीरासँग जोडिएको छैन । भित्रको हीरा मजासँग हल्लन्छ, घुम्छ । बताइएअनुसार यो हीरा करिब ८० करोड वर्ष पुरानो छ ।

यो हीरा साइबेरियाको एक खानीमा प्राप्त भएको हो । रुसको खानी कम्पनी ‘अलरोसा पीजेएसजी’ले यो हीराको बारेमा जानकारी दिएको हो । हीराको तौल ० दशमलव ६२ क्यारेट छ । यसभित्र रहेको अर्को हीराको तौल ० दशमलव ०२ क्यारेट छ । अलरोसाका ‘रिसर्च एन्ड डेभलपमेन्ट जियोलोजिकल इन्टरप्राइज’ का उपनिर्देशक ओलेग कोवलचुकले भने– ‘जहाँसम्म हामीलाई थाहा छ, हीरा खननको इतिहासमा अहिलेसम्म यस्तो खालको हीरा फेला परेको छैन, यो वास्तवमा प्रकृतिको एक अनौठो रचना हो ।’

हीरा साइबेरियाई क्षेत्र यकुसियाको न्युरबा खानीबाट निकालिएको हो, तर यसलाई याकुत्स्क डाइमन्ड ट्रेड इन्टरप्राइजले तरासेको हो । पछि विश्लेषणका लागि यसलाई ‘रिसर्च एन्ड डेभलपमेन्ट जियोलोजिकल इन्टरप्राइज’ लाई दिइयो । वैज्ञानिकहरूले यो हीरालाई एक्स रे माइक्रोटोमोग्राफी र स्पेक्ट्रोस्कोपीजस्ता विधिहरूको प्रयोग गरेर जाँच गरियो । अलरोसाका एक प्रवक्ताका अनुसार अब यसलाई विश्लेषणका लागि अमेरिकाको जेमोलोजिकल इन्स्टिच्युट पठाइनेछ ।

आइएएनएसका अनुसार यो अनौठो हीरालाई रुसको प्रसिद्ध पारम्परिक गुडिया ‘म्याट्रिओसाका’ जस्तो बताइएको छ । यसमा पनि ठूलो गुडियाभित्र एउटा अर्को सानो गुडिया हुन्छ । यसै गुडियाको नाममा हीराको नामकरण गरिएको छ र नाम राखिएको छ– म्याट्रिओसाका ।

कसरी बन्दछ हीरा ?

शतप्रतिशत कार्बनबाट बन्ने हीरा एक पारदर्शी रत्न हो । रासायनिक दृष्टिले यो कार्बनको शुद्धतम रूप हो, जसमा कुनै पनि प्रकारको मिलावट हुँदैन । रासायनिक हिसाबले निष्क्रिय हीरा अघुलनशील हुन्छ । हीरालाई ७ सय ६३ डिग्री सेल्सियससम्म तताइयो भने यो कार्बन डाइअक्साइडमा परिवर्तित हुन्छ र खरानी कत्ति पनि रहँदैन । हीरालाई प्राकृतिक रूपमा प्राप्त हुने सबैभन्दा कठोर पदार्थ मानिएको छ ।

हीराको खेती

अमेरिकाको फ्लोरिडास्थित सारासोता क्षेत्रमा हीराको खेती हुन्छ । सुन्दा अचम्म आगे पनि यो सत्य हो । यहाँ हीराको एउटा सानो टुक्राको प्रयोग नयाँ हीरा बनाउनका लागि बीउजसरी गरिन्छ । उक्त छोटो टुक्रालाई कार्बनसँग मिसाएर ग्रोथ चेम्बरमा हालिन्छ । यसपछि पृथ्वीको गर्भमा जत्तिकै ताप र दबाब भएको रिएक्टरमा लगिन्छ, जसको तापक्रम करिब ३ हजार डिग्री सेल्सियस हुन्छ । यस तरिकाले ग्रेफाइट हीरा बन्नमा करिब ८२ घन्टा लाग्छ ।

संसारको पहिलो हीरा भारतमा

संसारको पहिलो हीरा ४ हजार वर्षअघि भारतमा प्राप्त भएको थियो । उक्त हीरा गोलकुन्डा क्षेत्रको नदी किनारको बालुवामा पाइएको थियो । विश्वाप्रसिद्ध कोहिनूर हीरा जुन अहिले बेलायती महारानीको मुकुटमा छ त्यो पनि भारतको गोलकुन्डा खानीबाटै प्राप्त भएको थियो । एक दाबीअनुुसार संसारको लगभग ९२ प्रतिशत हीरा तरास्ने र पालिस लगाउने काम भारतमै हुन्छ । गुजरातको औद्योगिक सहर गुजरात यसका लागि प्रसिद्ध छ । सन् १७०० भन्दा अघिसम्म भारत विश्वकै ठूलो हीरा उत्पादक देश थियो ।

संसारका महंगा हीराहरू

पिंक स्टार – सन् २०१७ मा हङकङमा गुलाबी रंगको यो हीराको लिलामी भएको थियो । त्यसबेला यसको बोली ७ करोड एक लाख डलर लागेको थियो । यो महंगो हीराको विश्व रेकर्ड थियो । अन्डाकार यो हीरा ५९ दशमलव ६ क्यारेट छ । यसलाई सन् २०१३ मा पनि लिलामीमा राखिएको थियो, तर त्यतिबेला कसैले यसलाई किन्न सकेको थिएन ।

ओपनहाइमर ब्लु – यो हीरा सन् २०१६ मा ५ करोड ६ हजार डलरमा बिकेको थियो । हीराको तौल १४ दशमलव ६२ क्यारेट छ । यसलाई जेनेभाको क्रिस्टी अक्सन हाउसले लिलाम गरेको थियो ।

ब्लु मुन – सन् २०१५ मा एउटा औंठीमा जडिएको यो हीरालाई ४ करोड ८४ लाख डलरमा बिक्री गरिएको थियो । १२ दशमलव ०३ क्यारेटको यो हीरा हङकङका व्यापारी जोसेफ लुले आफ्नी छोरीका लागि किनेका थिए । उनले छोरीकै नाममा हीराको नाम पनि ‘ब्लु मुन अफ जोसेफाइन’ राखे ।

सनराइज रुबी – गाढा रातो रंगको यो पत्थर सन् २०१५ मा ३ करोड डलरमा बिकेको थियो । २५ दशमलव ५९ क्यारेटको यो पत्थर २०१५ मा हीरापछि बिक्री हुने सबैभन्दा महंगो जवाहरात थियो ।

ग्राफ पिंक – सन् २०१० मा २७ दशमलव ७८ क्यारेटको यो चमकदार गुलाबी हीरा ४ करोड ६२ लाख डलरमा लिलामी गरिएको थियो । यसलाई बेलायती डिलर लरेन्स ग्राफले किनेका थिए । त्यसैकारण हीराको नाम पनि उनकै नामबाट ग्राफ पिंक रह्यो ।

Skip This
Skip This
Logo