गड्तीरका स्थानीयलाई दशैंको उपहार बिजुली बत्ती

गड्तीरका स्थानीयलाई दशैंको उपहार बिजुली बत्ती

केन्द्रबिन्दु
0
Shares

दशैंको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ । खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसी र दिङलादीप विद्युत् विस्तार भएसँगै त्यस भेगका गाउँले निकै हर्षित भएका हुन् ।

फिकल गाउँपालिका–२ को सुङनामबेँसी र नवलपुर क्षेत्रका गाउँबस्तीमा पनि केही दिनभित्रै घरघरमा बिजुली पुर्‍याउने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरण सिन्धुली शाखाका इञ्जिनीयर एवं सूचना अधिकृत राजु महतोले जानकारी दिए।

दशैंको मुखमा त्यस क्षेत्रका करीब १०० घरधुरीमा अहिले बिजुली बलेको छ । थाक्लेको काखमा रहेको च्याकुटार र भालुभञ्जाङको फेदीमा रहेको दिङलादीप बस्ती अहिले बिजुली पुगेपछि रातको समयमा झिलिमिली भएको छ ।

कुँडुलेको सुनुवार बस्तीमा पनि बिजुलीले चमक थपेको छ । आफ्नो जीवनमा मोटर देख्न र बिजुली बाल्न पाइएला भन्ने कल्पनासमेत नगरेका स्थानीय ७० वर्षीय चतुरमान पहरी भन्छन्, ‘पछिल्लो समय विश्वास नै गर्न नसकिने गरी सडक, बिजुली, खानेपानीको क्षेत्रमा विकास र सुधार भएको छ, जसले हामीलाई जीवनयापन गर्न निकै सजिलो बनाएको छ ।’

विद्युतको पहुँच विस्तारसँगै गाउँलेको मोह बिलासिताका वस्तु खरीदतर्फ आकर्षण भएको छ । विद्युत्को लाइन विस्तार हुँदा नहुँदै कति इञ्चको टेलिभिजन र कति लिटरको फ्रिज किन्ने भन्नेमा वल्लो, पल्लो र तल्लो घरमा प्रतिस्पर्धाको होडबाजीसमेत चल्न थालेको छ ।

सुनकोशी आधारभूत प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज न्यौपानेका अनुसार, केही वर्षअघिसम्म सल्लाको दियालोबाट रातको समयमा घरभन्दा गर्दै आएका गाउँले अहिले घरका बार्दली, कोठा, चोटा र मतानमा मात्र होइन, गाईगोठ र बाख्राको खोरमा समेत झिलिमिली हुने गरी बत्ती जडान गरेका छन् । बिजुली पुगेसँगै दिउँसो खेतबारीमा काम गरेर साँझ बिहान पठनपाठन गर्न चाहने शिक्षक र विद्यार्थीका लागि निकै हौसला मिलेको छ ।

दशैंको मुखमा बिजुली पुगेपछि त्यसभेगका जनताले यो दशैंलाई उज्यालो दशैं उत्सवको रुपमा मनाउने योजना बनाएका छन् । विद्युत्को मिटर जडान र वायरिङको काम सकिएसँगै कतिपयले जनतामा दशैं र तिहारमा शहरकै झल्को दिने गरी विभिन्न रङका झिलीमिली बाल्ने सुर कसेका छन् । चाडपर्व र जात्रामा स्थानीय युवायुवतीद्वारा प्रस्तुत गरिने नाचगान हेरेर रमाउँदै आएका त्यस क्षेत्रका बासिन्दालाई विद्युत्को पहुँचले संसार बुझ्ने मौका प्रदान गरेको छ ।

प्रत्येक घरका बालबालिकाले आफ्ना अभिभावकलाई टेलिभिजन जडानका लागि आग्रह गरिरहेको छन् भने घरमुलीलाई भने बिजुलीको शुल्कले ढाड त सेक्ने होइन भन्ने चिन्ताले पिरोलेको छ । खानेपानी, सडक र उज्यालो त आयो, यसले केटाकेटीको माग र खर्च निकै बढाएछ, आम्दानीको दह्रो स्रोत छैन, घर खर्च कसरी धन्ने भन्ने चिन्ताले हामीलाई पिरोलेको छ, स्थानीय नीरबहादुर पाण्डे बताउँछन् ।

यो क्षेत्रमा विद्युत् विस्तारका लागि प्राधिकरणले यो वर्ष थप एक करोड ७० लाख बजेट विनियोजन गरेको थियो । २५ किलोमिटरको उक्त क्षेत्रमा अहिले पाँच ट्रान्सफर्मर जडान गरिसकेको भने नवलपुरसम्म विद्युत्को प्रवाह छोडिसकेको छ ।

Skip This
Skip This
Logo