नयाँ सभामुख चयनबारे परामर्श सुरु

नयाँ सभामुख चयनबारे परामर्श सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ ।

नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चलाएको छ । सभामुखबाट महराले दिनुभएको राजीनामा भने बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको छ ।

सङ्घीय संसद् सचिवालयमै कार्यरत एक महिलाले जबर्जस्ती करणीको अभियोग लगाएपछि महराले सभामुखबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा लगत्तै आरोपित भनिएकी महिलाले आफ्नो आरोप खण्डन पनि गर्नुभएको थियो ।

संवैधानिक व्यवस्था अनुसार, सभामुख वा उपसभामुख फरक राजनीतिक दलको हुनुपर्छ । सभामुख वा उपसभामुखमध्ये एक फरक लिङ्गको हुनुपर्ने पनि संवैधानिक व्यवस्था नै छ । अहिले उपसभामुख तत्कालीन एमालेबाट निर्वाचित हुनु भएकी डा. शिवमाया तुम्बाहाङ्फे हुनुहुन्छ । यस अघि सभामुखमा माओवादी केन्द्रबाट महरा उम्मेदवार बन्नु भएको थियो । दुई दल एकीकृत भएपछि विपक्षी दलले पुनः निर्वाचनको माग गरे पनि सशक्त कार्यसूची भने बनाउन सकेको थिएन ।

अबको समीकरण अनुसार उपसभामुखमा तुम्बाहाङ्फेलाई निरन्तरता दिएमा सभामुख नेकपाले पाउने छैन । अन्य दललाई सभामुख दिन नेकपाले नचाहेमा उपसभामुखको राजीनामा अनिवार्य छ ।

तर, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने पात्र र सभामुख चयनको मितिबारे औपचारिक रूपमा कुनै पनि छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले भर्खर मात्रै अप्रत्याशित घटना फेस गरेका छौँ । अब सभामुख चयनको प्रक्रिया दलीय सहमतिमा नै अघि बढ्छ । व्यक्तिबारे हामीले कुनै छलफल गरेका छैनौँ । सम्भवतः अब अर्को अधिवेशनमा नै चयन प्रक्रिया अगाडि बढ्छ ।’’

तर, सङ्घीय संसद्को चौथो अधिवेशनमा पारित भएका केही विधेयक प्रमाणीकरणको प्रक्रियामा छन् । ती विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनु अघि सभामुखले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । सभामुख नहुँदा तत्काल प्रमाणीकरण हुनुपर्ने विधेयक भने अगाडि बढ्न सक्ने अवस्था छैन । यो परिस्थिति अनुसार भने विशेष अधिवेशनबाट पनि सभामुखको चयनको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहन्छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo