महराको राजीनामाले पूर्णता पायो, सचिवले जारी गरे सूचना

महराको राजीनामाले पूर्णता पायो, सचिवले जारी गरे सूचना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि मंगलबार पदबाट राजीनामा दिएका महराको राजीनामाले बुधबार मात्र पूर्णता पाएको हो ।

महराले राजीनामा उपसभामुख समक्ष मंगलबार बुझाएका थिए । यो प्रक्रियाले भने बुधबार मात्र पूर्णता पाएको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले सबै प्रक्रिया पूरा गरेर महराको राजीनामालाई पूर्णता दिएको हो।

संवैधानिक व्यवस्था अनुसार संसदको अधिवेशन चालु रहेको अवस्थामा सभामुखको राजीनामा पत्र संसदमा पढेर सुनाउनु पर्छ । तर संसदको अधिवेशन असोज २ गते अन्त्य भएको थियो ।

संसदको अधिवेशन चालु नरहेको अवस्थामा संसद सचिवालयले राजीनामा सम्बन्धी सूचना प्रकाशित गर्नुपर्छ । तर संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई परिवारका सदस्य बिरामी भई उपचारका लागि भारतको नयाँ दिल्लीमा छन् । जसका कारण राजीनामाको प्रक्रियाले मंगलबार पूर्णता पाएको थिएन ।

महासचिव भट्टराई मंगलबार नै स्वदेश फर्किने प्रयासमा रहे पनि सकेनन् । बुधबार पनि हवाई टिकट नपाउँदा उनी आउन पाएनन् । महासचिव भट्टराईको अनुपस्थितिमा संसद सचिवालयका सचिव भरतराज गौतमले हस्ताक्षर गरी बुधबार दिउँसो सूचना निकालेर महराको राजीनामा प्रक्रियालाई पूर्णता दिएको संसद सचिवालयले जनाएको छ ।

Skip This
Skip This
Logo