काठमाडौं । बलात्कार आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले पदबाट मंगलबार राजीनामा दिए । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका थिए ।
उनी सम्बद्ध पार्टी नेकपाले संसद पदबाट पनि राजीनामा दिन भनेको छ । तर सभामुखबाट मात्रै राजीनामा दिएका महराले आफू निर्दोष रहेको र छानविनका लागि नैतिकताका आधारमा राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।
उनको पक्ष र विपक्षमा विभिन्न टिका टिप्पणी भइरहेका बेला महरा पुत्र भने बाबु निर्दोष रहेको र छानविनका लागि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।
महराका छोरा निर्मल महरा एटमले बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा आफ्ना पिता पदको भोगी नहरेको र छानबिनका लागि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । एटमले लेखेका छन्, ‘महरा पदको भोगी होइनन्, आरोपित घटनाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन् ।’
उनले पार्टीका नेताहरुलाई लक्षित गर्दै लेखेका छन्, ‘कति छिटो आँ गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षड्यन्त्र के लाई बुझ्ने ?’
बलात्कारको आरोप लागेका महराले सांसद पदबाट राजीनामा नदिए पनि उनी सम्बद्ध नेकपाले अब सांसदका रुपमा नचिन्ने बताइसकेको छ । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले महरालाई नेकपा संसदीय दलले सांसदका रुपमा नचिन्ने प्रतिक्रिया दिएका हुन् । नेम्वाङको भनाइबारे प्रकाशित समाचारलाई सेयर गर्दै निर्मलले यस्तो बताएका हुन् ।































प्रतिक्रिया