काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले पूर्वराष्ट्रपति डा. रामवरण यादवको विदेशमा हुने उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुनविपरीत भएको बताएका छन् ।
मन्त्रिपरिषदको यसअघि बसेको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक भएपछि पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सरकारको यो निर्णय कानुनविपरीत भएको प्रतिक्रिया दिएका हुन् ।
पूर्वराष्ट्रपति डा. यादवको पेटमा क्यान्सर देखिएपछि तीन वर्षअघि अमेरिकामा उपचार गरिएको थियो । अमेरिकाबाट फर्किएपछि डा. यादवले हरेक वर्ष भारतको चण्डीगढस्थित पीजीआईएमईआर अस्पतालमा नियमित जाँच गराउँदै आएका छन् ।
करिब दुईसाता अघि रगतमा खराबी देखिएपछि डा. यादव चण्डीगढ गएका थिए । कांग्रेस पूर्वनेता समेत रहेका नेपालका पहिलो राष्ट्रपति डा. यादवको विदेशमा भएको उपचार खर्च सरकारले दिन नपाउने थापाको भनाइ छ ।
थापाले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै भनेका छन्, हामीले ! वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ, कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन । ‘पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ । तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्योहोर्ने निर्णय गर्यो, प्रमज्यू ?
केही साताअघि प्रधानमन्त्री केपी शर्मा ओली पनि सिंगापुरमा उपचार गराएका थिए । उनले भने व्यक्तिगत खर्चमा स्वास्थ्य उपचार गराएको बताउने गरेका छन् ।





























प्रतिक्रिया