‘प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो’ : प्रवक्ता ज्ञवाली

‘प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो’ : प्रवक्ता ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै नै हुने बताएका छन्। नेकपाको विहिबार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताए।

पुस ५ गते सरकारका सात जना मन्त्रीले राजीनामा दिएका थिए । प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पारे । “प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो”, उनले भने।

उनले अब पार्टीको एकमात्र एजेण्डा सङ्गठन विस्तार र निर्वाचनको तयारी रहेकोसमेत बताए। बैठकले यसअघि पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएकामा त्यो फिर्ता लिएको छ । उनले अर्को पक्षले गर्ने आन्दोलनको कुनै अर्थ नभएको स्पष्ट पारे। “जनमत जुटाउन जान छोडेर आन्दोलनका नाममा जनतालाई थप पीडा दिनु भनेको जनताबाट पलायन हुनु हो”, उनले भने, “उहाँहरुलाई म आग्रह गर्न चाहन्छु त्यो आन्दोलनको निर्णय फिर्ता लिनुहोस् ।”

अहिलेका प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको ६४ प्रतिशत संसदमा रहेकाले प्रधानमन्त्रीमाथि दलको विश्वास नटुटेको बताए । “अहिले नेकपा पार्टी विभाजन भएको छैन । संसदमा ६४ प्रतिशत सांसद् रहेको दल अहिले पनि रहेको छ । उनीहरुले प्रधानमन्त्रीलाई विश्वास गरेको अवस्था छ”, प्रवक्ता ज्ञवालीले भने। उनले विघटन भएको संसदभित्र संसदीय दल नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलबाट हटाउने कुरै नआउने बताए। प्रवक्ता ज्ञवालीले अहिले प्रदेश सरकारबारे केही सोच नबनाएको समेत स्पष्ट पारे।

यस्तै स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले पार्टी नफुटोस् भन्ने पक्षमा आफू रहेको बताए। केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी फुटका लागि आधार तयार भइनसकेको भन्दै अहिले भइरहेका कतिपय काम दुर्भाग्यपूर्ण भएको बताए ।

उनले प्रधानमन्त्रीको ताजा जनादेशमा जाने कुरालाई सर्वोच्च अदालतले समर्थन गर्छ भन्ने विश्वास प्रधानमन्त्रीमा रहेको स्पष्ट पारे । “सर्वोच्च अदालते के गर्छ पर्खौं, तर प्रधानमन्त्रीको ताजा जनादेशमा जाने जुन प्रयोग गर्नु भएको छ, त्यसलाई सर्वोच्च अदालतले समर्थन गर्छ भन्ने विश्वास उहाँको रहेको छ”, नेवाङले भने ।

उनले ताजा जनादेश अनुसार आफू जनतामा जाँदा के भन्छौँ भन्नेमा तयार रहेकोसमेत स्पष्ट पारे । “एउटा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि हामीसँग धेरै सोच थिए । यसमा हामी अगाडि बढ्ने तयारीमा थियौँ । पाँच वर्ष अगाबै संसद् विघटन गर्छाैं भन्नेस्थित नआओस् भन्नका लागि हामी सजग थियौँ”, उनले भने, “हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाझ लिएर जान्छौँ ।” उनले पार्टी फुट्दा जनतालाई दुःख दिने काम कसले गर्यौं, हामीले गर्यौँ कि अरुले गर्यौं त्यसको छिनोफानो र सजाय जनताले दिनेसमेत बताए ।

Logo