कलाकार श्वेता खड्कालाई नेपाल सरकारको प्रवल जनसेवाश्री पदक

कलाकार श्वेता खड्कालाई नेपाल सरकारको प्रवल जनसेवाश्री पदक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सिन्धुपाल्चोकको ईन्द्रावती नदी किनारका ५३ घर माझी परिवारका लागि एकिकृत बस्ती बनाउँदै गरेकी नायिका श्वेता खड्का राष्ट्रपतीबाट प्रदान गरिने प्रवल जनसेवाश्री पदकबाट विभूषित हुने भएकी छिन् । संविधान दिवसको अवसरमा बिभिन्न पदकबाट विभूषित हुनेहरुको नामावलीमा आफ्नो नाम पनि समाबेश भएपछी आफ्नो फेसबुक स्ट्याटस मार्फत नायिका खड्काले उक्त कुराको आधिकारिक जानकारी गराएकी छिन् ।नायिका खड्काले आफुलाई उक्त पदकको लागि चयन हुन्छु भन्ने सपनामा समेत नचिताएको बताउँदै नेपाल सरकारको उक्त निर्णय आफ्नो लागि सप्राइज भएको बताइन् । उनले भनिन् , यो खबरले मलाई जति हर्षित तुल्याएको छ त्यत्तिनै थप जिम्मेवार बन्न दवाब पनि सिर्जना गरेको छ ।

नेपाली सिनेमाको पर्दामा ११ बर्ष पहिले रिलिज भएको कहाँ भेटिएला नामक चलचित्र मार्फत नायिकाको रुपमा देखिएकी श्वेता खड्काले ब्यापारिक क्षेत्र हुंदै सामाजिक क्षेत्रमा पनि अमुल्य योगदान दिए बापत प्रवल जनसेवाश्री पदकबाट सम्मानित हुने अवसर पाएकी हुन् । राम्रो काम गर्नेले सम्मान र नराम्रो काम गर्नेलाई संजायको भागीदार बनाउने संस्कारलाई ब्यापकता दिनु पर्ने बिचार प्रकट गर्दै नायिका खड्काले आफ्नो लागि दाम भन्दा ठूलो नाम र नाम भन्दा पनि काम ठूलो लाग्ने बताईन् । हरेक क्षेत्रमा उत्तिकै चुनौती रहेको र ती चुनौतिहरुलाई सामना गर्दै अगाडि बढ्न सक्ने हौसला, आँट र शाहस बटुलेमा मात्र सफलता प्राप्त गर्न सकिने बताउँदै नायिका खड्काले भनिन् , राम्रो काम गर्दै गयो भने त्यसको मुल्यांकन कहींकतैबाट अवस्य हुन्छ, केवल कर्म गर्न छोड्नु हुन्न ।

ब्यापारिक् , सामाजिक र कलाको क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल नायिका खड्काको अगुवाईमा बनिरहेको माझी बस्तीमा यतिखेर ५३ वटा घरहरु निर्माणको काम सकिसकेको छ । घरहरु बाहेक बस्तीमा आवश्यक अन्य पुर्वाधारहरु जस्तै बाटो, नाला, बाल बगैँचा, सामुदायिक भवन, स्वास्थ्य चौकी, मन्दिर र वाटर फाउन्टेन लगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने साँढे ४ करोड रकमको जोहो गर्न कम्मर कसेर लागि परेकी नायिका खड्कालाई प्रवल जनसेवाश्री पदकको खबरले खुशी तुल्याएको छ । भर्खरै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुर्वाधार निर्माणका लागि सहयोग स्वरुप १ करोड ३० लाख सहयोग दिने घोषणा गर्नु र नेपाल सरकारबाट नै राष्ट्रिय पदकबाट सम्मान गर्ने खबर सुन्नुले आफूलाई झन उर्जा मिलेको बताउँदै नायिका खड्काले भनिन् , माझी बस्तीको लागि अझै नपुग ३ करोड रुपैयाँ जहाँबाट जसरी हुन्छ खोजेरै ल्याउँछु र त्यो बस्तिलाई जिल्लाकै नमुना बस्ती बनाएरै छाड्छु ।

Skip This
Skip This
Logo