काठमाडौं । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । मन्त्री भट्टराईको निर्णय सरकारी स्वामित्वको कम्पनीबाट भएको हो ।
यसैबीच निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने छन् । अधिकतम जहाजको उपयोग गरी दशैंमा यात्रुलाई सेवा दिने उद्देश्य निगमको रहेको छ ।
यसअघि निजी हवाइ कम्पनीहरूले भने चाडपर्वको अवसरमा हवाइ भाडामा १० प्रतिशत छुट दिने घोषणा गरेका थिए । वायुसेवा सञ्चालक संघ नेपालले दशैँदेखि छठसम्मको लागि १० प्रतिशत भाडा छुट दिने निर्णय गरेको थियो ।
सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमै पुगेर आउँदो असोज १२ देखि कात्तिक १७ गतेसम्मको हवाइ टिकट खरिद गरेमा सामान्य हवाइ भाडामा (विमानस्थल शुल्क, इन्धनबाहेक) १० प्रतिशत छुट दिएको थियो ।





























प्रतिक्रिया