दसैंका लागि नयाँ नोट असोज १० गतेदेखि

दसैंका लागि नयाँ नोट असोज १० गतेदेखि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल राष्ट्र बैंकले यो वर्ष असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ। हरेकवर्ष दसैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने गरेको छ।

‘सटही सुविधाका लागि ठाउँ व्यवस्थापन गर्न कठीन भएर यो वर्ष केही ढिला हुने भएको छ,’ राष्ट्र बैंकका प्रवक्ता एवम् मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले भने ।

विगतमा राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट नोट सटही सुविधा दिँदै आएको थियो । यो वर्ष भने बालुवाटार कार्यालयबाट यस्तो सुविधा दिने उनले बताए । थापाथलीमा नयाँ भवन निर्माण कार्य चलिरहेकाले बालुवाटारबाट सटही सुविधा दिन लागिएको उनले बताए । ‘तर अत्यन्तै साँघुरो ठाउँ भएकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा टुंगो लागिसकेको छैन,’ उनले भने।

राष्ट्र बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका सय–सय थान नोट सटही सुविधा दिनेछ । यसरी बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोटको सटही सुविधा दिने प्रवक्ता निरौलाले बताए। त्यसभन्दा बढी पैसा आवश्यक हुनेले पुराना तर सफा नोट पाउने छन् ।
अन्नपूर्णबाट

Logo