झापा,
गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै धमाधम चन्द समूहका कार्यकर्ता देशभर नै पक्राउ परिरहेका छन् ।
हिंसात्मक गतिविधि गरेको भन्दै चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै पछिल्लो समय झापामा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चन्द समूहका जिल्ला सेक्रेटरी प्रवीण मिश्र (मनिष) सहित आठ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुलाई जिल्लामा शृङ्खलाबद्ध बम विस्फोट गराएको आरोपमा प्रहरीले पक्राउपछि सार्वजनिक गरेको हो । विप्लव समूहका कार्यकर्तासँग बरामद गरिएका हातहतियार, चन्दा रसिद, पार्टीका दस्तावेज लगायतका सामग्रीसमेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।
पछिल्लो समय झापाका विभिन्न पालिकामा शृङ्खलाबद्ध रूपमा बम विस्फोट गराएर जनजीवन त्रसित बनाएको भन्दै प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका–१ निवासी ३४ वर्षीय प्रवीण मिश्र (मनिष), जिल्ला सदस्य झापा हल्दिबारी गाउँपालिका–५ निवासी ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भीमफेदी गाउँपालिका–२ निवासी २६ वर्षीय अनुलसारु मगर रहेका छन् ।
बिर्तामोडमा डेरा गरी बस्दै आएका सेक्रेटरी मनिष, जिल्ला सदस्य पोखरेल सडक विभागको ठेकेदारको काम र मगरले जापानिज भाषा सिक्न बसेको भन्दै ढाँटेर डेरामा बस्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
प्रहरीले तीनै जनालाई विशेष सूचनाका आधारमा सोमबार बिर्तामोडबाट पक्राउ गरेको थियो । सेक्रेटरी मनिष र सदस्य पोखरेल सोमबार बिहान पक्राउ परेका थिए भने मगरलाई दुई थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, चन्दा रसिद, पार्टीका दस्तावेजसहित प्रहरीले सोमबार साँझ उनकै डेराबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
पक्राउ परेका मगर बम बनाउने काममा सक्रिय रहेको अनुसन्धानका क्रममा खुलेको प्रनाउ श्रेष्ठको भनाइ छ । उनीहरूले भदौ २२ गते बिर्तामोड र गौरदाहमा बम विस्फोट गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनाउ श्रेष्ठले बताउनुभयो ।
रासस































प्रतिक्रिया