काठमाडौं ।
संघीय राजधानीमा अवस्थित काठमाडौँ महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । जुम्लाको उद्योग बाणिज्य महासंघको हलमा दुई नगरबिच भगिनी सम्बन्ध स्थापना भएको हो । दुई नगरबीच भगिनी सम्बन्ध स्थापनापछि सो नगरपालिकाको वडा–३ मा अवस्थित धिमी पार्क निर्माणका लागि साझेदारी गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि निर्माण गरिने सो पार्कका लागि काठमाडौँ महानगरले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत बजेटबाट १ करोड ५० लाख सहयोग दिने घोषणा गरेको छ । उक्त सम्झौतापत्रमा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालबिच हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरका प्रमुख शाक्यले एकतामा अनेकता नभई अनेकताकाबीच एकता खोज्ने उद्देश्यका साथ आफ्नै मुलुकभित्रका नगरहरुसँग नगर–नगर साझेदारी कार्यक्रम अघि बढएको स्मरण गराउदै उनले भने, ‘दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरी हितैषी तथा मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई प्राथमिकता दिने, असल अभ्यास र अनुभवको आदन–प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणका अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले यो सम्बन्ध स्थापना गरेका हौँ ।’
त्यस्तै, उनले यो सम्बन्धले संस्थागत सबलता र सुदृढिकरणमा सहकार्य, असल अभ्यास तथा सफल अनुभवको आदान–प्रदान, स्थानीय पर्यटन प्रवद्र्धन, प्रकृति तथा प्रर्यावरणको संरक्षण, स्थानीय सुशासनमा सहकार्य, साझेदारीका लागि पनि सहयोग पुग्ने अपेक्षा लिएको बताइन् ।
जातीय, भाषिक र भुगोलको विविधताले भरिएको देश नेपालमा यी सबै कुराको अस्तित्वलाई बचाउँदै एकता कायम गरी अघि बढ्न सकियो भने मात्रै देशको विकास गर्न सकिन्छ । हामीले एकतामा अनेकता होइन अनेकतामा एकता खोज्नु पर्छ यहि उद्देश्यका साथ यी दुईबीच भगिनी सम्बन्ध स्थापना गर्दै गर्दा इतिहासको सम्बन्ध पनि जोडिएकाले हामी खुशी भएको बताइन् ।
प्रमुख शाक्यले काठमाडौँमा रहेका मूर्त–अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै त्यसको संरक्षणमा दत्तचित्त भएर लागेको पनि उनले स्मरण गराएका छन् । कार्यक्रममा चन्दननाथकी प्रमुख सेजुवालले दुई नगरबिच सम्बन्ध स्थापना हुनु खुशीको कुरा भएको भन्दै आगामी दिनमा विद्यूत व्यवस्थापन, सडक र भौतिक पूर्वाधार निर्माण, पर्यटन मार्ग निर्माणलगायतका लागि पनि सहकार्य गर्न सकिने बताइन् ।
चन्दननाथ बाबाको नामबाट प्रख्यात जुम्लाको चन्दननाथ नगरपालिका पर्यटकीय हिसावले पनि महत्वपूर्ण रहेको भन्दै महानगरको सहकार्यमा निर्माण हुने पार्क निर्धारित मितिमै सम्पन्न गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । ‘आर्थिक वर्ष २०७८/०७९ भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । हामी त्यो अवधी भित्रमा सम्पन्न गरि छाड्छौँ’ सेजुवालले भनिन्, ‘हामीले विदेशी होइन स्वदेशी नगरसँगै सहकार्य गर्नुपर्छ भनेर काठमाडौँ महानगरसँग सहकार्य गरेका छौँ । देशकै ठूलो र पुरानो महानगरबाट यो नगरलाई सहकार्यसँगै विकास निर्माणमा गरेको साझेदारीले हामी थप उत्साहित भएका छौँ ।’ उनले तिला, हिमा, जुवा नदीले प्रख्यात जुम्लामा विष्णु ताल, हुड्के ताल, जोगी ताल, शङ्ख दह, ठाकुरज्यु दह, गिडी दह रहेको पनि बताए । कान्जिरोवा हिमालको फेदीबाट सुरु भई समग्र सिंजा क्षेत्र हुँदै दक्षिणतिर बग्ने नदी पनि जुम्लामै अवस्थित छ ।
त्यसैगरी चन्दननाथ मन्दिर, विराट दरबार, चिरमालिका, भैरवनाथ, कनकासुन्दरी, सिजा क्षेत्र, नाग्मा पनि जुम्लामै रहेका छन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यस अघि नै रामग्रामसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संस्कृति र पर्यटनलाई जोड्न स्वदेशकै नगर–नगरबीच भगिनी सम्बन्ध स्थापनाको कार्य अघि बढाएको बताइन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले काठमाडौँ महानगरको सहयोग र सहकार्यले जुम्लेली जनता खुशी भएको बताए ।































प्रतिक्रिया