ओली समूहसँग असन्तुष्टी हुँदै पूर्वमन्त्री तामाङ प्रचण्डको बैठकमा जाँदै

ओली समूहसँग असन्तुष्टी हुँदै पूर्वमन्त्री तामाङ प्रचण्डको बैठकमा जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य शेरबहादुर तामाङले केपी शर्मा ओली पक्ष छोडेर प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताएका छन् ।

उनी यसअघि ओली समूहले राखेको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए । उनले आज एक विज्ञप्ति जारी गर्दै आफ्ना असन्तुष्टीहरु उल्लेख गरेका छन् । सिन्धुपाल्चोकबाट निर्वाचित उनी पूर्वकानुन मन्त्री समेत हुन् ।

यस्तै प्रदेश नं. १ की सांसद उषाकला राईले पनि आफूले नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेको बताएकी छिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सम्मानपूर्वक दिएको केन्द्रीय सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताएकी हुन् ।

राई र तामाङ श्रीमान् श्रीमती हुन् । उनीहरुले आज संयुक्तरुपमा विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्ति यस्तो छ :

शेर बहादुर तामाङ्ग, उषाकला राई
हाम्रो भनाई
मितिः २०७७ पौष ९
आदरणीय दिदिवहिनी दाज्युभाईहरु

मुलुकमा अहिले गम्भीर राजनीतिक परिस्थितिको श्रृजना भएको हामी सबैलाई अवगत नै छ । यो परिस्थितिको उत्पन्न हुनुमा हामी सबैमा रहेका असहिष्णु, असहयोगी, असमझदारी, अहंकार, अविवेकी र असंवेदनशीताका भावनाहरु नै कारक रहे । हाम्रो नेपाली समाजमा रहेको खुट्टा तान्ने प्रवृत्ति अत्यन्त हानीकारक छन् । कम वेशी सबैमा यो प्रवृत्ति हावी छन् । एकातिर काम गर्नेले काम गर्न पाईदैन, भने अर्कातिर काम नगर्ने प्रवृत्ति भएकाहरुको बोलबाला निर्णायक ठाउँहरुमा छन् । मुलुकको समृद्धि, विकास र जनजिविकाका कयौं मुद्दाहरु अझै ठिक ट्रयाकमा हिंड्न सकिरहेका छैनन् । गणतन्त्रको संस्थागत विकासको लागि गरिने कयौं कामहरु अझै बाँकी छन् । जनताद्वारा, जनताले, जनताका लागि गरिने उत्कृष्ट शासन व्यवस्था लोकतन्त्र हामी सबैका साझा विषय हुन् । यसमा कहिंकतैबाट प्रश्न उठ्ने कुरा शोभनीय होईन । लोकतन्त्रको रक्षा र विकासमा हामी सबै लाग्नु पर्दछ ।

यो गम्भीर परिस्थिति उत्पन्न हुनु अगाडि पार्टी नेतृत्वको एकताका लागि हामीद्वारा गरिएका निःश्वार्थ प्रयासहरु कुनै काम लागेनन्, यस अभियानमा लाग्ने पार्टीका सबै अगुवा मित्रहरुलाई हार्दिक धन्यवाद दिन चहान्छौं । एउटै पार्टीभित्र एताउता हुँदा जघन्य अपराध गरेको जस्तो हुनुपर्ने हामीले कुन संस्कार विकास गर्यौं ? तसर्थ विगत केही दिनयता राष्ट्रमा घटिरहेको गम्भीर राजनीतिक परिघटनाहरुमा हाम्रा कारणले केही नेतागण र कार्यकर्ताहरुमा पर्न गएको पिडा र वेदना हामीले राम्रोसंग महसुस गरेका छौं साथसाथै आगामी दिनमा हाम्रा कारणले पूनः केही नेतागण र कार्यकर्ताहरुमा पर्न जाने दुःखद अनुभव समेत हामीले राम्रोसंग बुझेका छौं यी दुवै अवस्थाप्रति हामी माफी माग्न चहान्छौं । जिल्लाका कार्यकर्ताहरुमा पार्टीप्रति निष्ठाकासाथ एकताबद्ध भएर लाग्न हार्दिक आव्हान गर्दछौं ।

हामीले विकास गरेको नेपालको लोकप्रिय कम्युनिष्ट आन्दोलनमा यति ठूलो विग्रह न विगतमा भयो न भविष्यमा हुनेछ । पुनः सबैले आ–आफ्नो ठाउँबाट हामीमा रहेको कुण्ठित भावनाहरुलाई त्यागेर पार्टीलाई एकताबद्ध बनाउने काममा गम्भीर समीक्षा गरेर लागौं । विभाजनले कसैलाई फाईदा छैन । राष्ट्रको नेतृत्वदायी पार्टीहरुमा विग्रह हुनु र विभाजन हुनु निश्चय नै राष्ट्र र जनताका लागि पीडादायी कुरा हो । यसले सिंगै राष्ट्रलाई ठूलो असर पार्दछ ।

हामीले मुलुकको समृद्धिका लागि धेरै मित्रहरु र संस्थाहरुको अनुसन्धान पश्चात गाँजाखेतिलाई वैधानिक बनाउन संसदमा विधेयक दर्ता गरेका थियौं । साथसाथै नेपाली कोदोको रक्सिलाई ब्याण्ड होईन ब्राण्ड बनाउँ भन्ने अभियान संचालन गर्यौं । समृद्ध नेपाल, सुखी नेपाली बनाउने महान अभियान नाराले मात्र होईन साँच्चै व्यवहारमा लागु गर्न धेरै अन्य विषयहरुमा समेत हामीले अनुसन्धान गरेका छौं । अगामी दिनमा यी विषयहरु प्नि नेपाली जनतामाझ लिएर आउने प्रतिवद्धता व्यक्त गर्दछौं । यी सबै विषयहरु लागु गर्न कार्यकारी भूमिकामा हुनुपर्दछ भन्ने पनि हामीले राम्रोसंग बुझेका छौं ।

संसदमा दर्ता रहेको गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसदको हिंउँदे अधिवेशनमा पास हुने कुरामा हामी विश्वस्त थियौं । नेपाल राष्ट्रले संयुक्त राष्ट्रसंघमा गाँजालाई हानिकारण लागु औषधको सूचिबाट हटाउने पक्षमा मतदान गरेर पारित समेत भैसकेको परिप्रेक्षमा हाम्रा लागि संसदको हिंउँदे अधिवेशन महत्वपूर्ण हुन सक्दथ्यो । तर दुर्भग्यवस संसद विघटन हुन पुगेको छ । यस परिप्रेक्षमा वर्तमान सरकारबाट गाँजाखेतीलाई वैधानिक बनाउने सम्बन्धी कानूनलाई अध्यादेश मार्फत भएपनि खुल्ला गर्ने अपेक्षा गर्दछौं । साथै कोदोको रक्सिलाई ब्रण्डिङ गर्ने कार्यको समेत शुभारम्भ हुने अपेक्षा गरिएको छ । यसकालागि हामीद्वारा गरिएका केही प्रयाशहरुलाई अन्यथा ढंगले नबुझिदिन समेत सबैमा अपिल गर्दछौं । हाम्रालागि पद गौण विषय हुन ।

यसविचमा धेरै उत्तरचढावहरु आउनेछन्, संसद विघटनको विषय सम्मानित अदालतले व्याख्या गरेपछिमात्र टुंगो लाग्नेछ । संसद पूनःस्थापना भए मुलुकको राजनितिक परिघटना पूनः अर्को कोर्षबाट हुनेछ भने पूनःस्थापना नभए मुलुक सार्वभौमसत्ता सम्पन्न जनताको हातमा रहेको छ । मुलुक पूर्णतः निर्वाचनको कोर्षमा जानु पर्दछ । हामीहरु आफ्ना अगाडी देखिएका चिजहरुलाई विश्वास नगरेर अनुमानहरु लगाउन धेरै खप्पिस छौं । तसर्थ यो गम्भीर परिस्थितिमा सबैले संयम र धैर्यता पूर्वक कृयाशील भई निराशाको खेति गर्न छोडेर आशावादिताको विउ रोप्न सबैमा हार्दिक अपिल गर्दछौं ।

“समृद्धि सम्भव छ, हाम्रै पहलमा !”
(उषाकला राई) (शेर बहादुर तामाङ्ग)
खोटाङ्ग, सिन्धुपाल्चोक

Skip This
Skip This
Logo