- डा. अरुणा उप्रेती –
ओहो ! जुन युद्धलाई टार्न मैले त्यति कोसिस गरेको थिएँ, त्यो युद्ध शुरू भयो १८ दिनपछि समाप्त पनि भयो । तर, म अहिले युद्धपछि कुनै पनि पाण्डवपुत्रको अनुहारमा खुसी देखिरहेको छैन । युद्ध जित्दाको विजयभाव लेस मात्र पनि छैन अनुहारमा ।
खुसी होऊन् पनि कसरी ! महाभारतको युद्ध सकिएपछि पाण्डवपुत्रले आफ्ना पाँच पुत्रको हत्या खबर सुन्नुपर्यो । कौरव पक्षका जीवित रहेका केही व्यक्तिहरूले (जसमा द्रोणपुत्र अश्वत्थामा पनि थिए) रातको अँध्यारोमा, पाँच पाण्डवपुत्रको हत्या गरे । हत्याको खबर सुनेर द्रौपदी स्तब्ध भएकी थिइन् । उनले भनेकी थिइन्–‘मैले द्रोणपुत्रबाट यस्तो कायरताको आशा गरेकी थिइन । मेरा पुत्रहरूले रणभूमिमा लड्दालड्दै मृत्युलाई वरण गरेको भए, मलाई लाग्थ्यो कि तिनीहरूले आफ्ना पिताहरूको साथ दिए तर अपसोच त्यसो भएन । भर्खर किशोरावस्थाका मेरा छोराको हत्या गरियो । किन कृष्ण, मैले जीवनभर सुखको एक थोपा पनि चाख्न नपाउनू ? किन विजयी भइसकेपछि मैले जीवनभरि नपुरिने घाउ बोक्नुपरेको ? अब म यस धर्तीको पटरानी भएरै बसे पनि मेरो दुःखी हृदयलाई सुख मिल्ला र कृष्ण ?
‘द्रौपदीको आँसुले भरिएको शब्दमा जुन वेदना थियो, त्यो आत्मसात् गर्न मलाई साह्रै गाह्रो भएको थियो । हो नि विचरी द्रौपदीले जहिले पनि दुःखलाई साथ लिएर हिँड्नपर्यो । विवाह हुँदा पनि खुसी हुन सकिनन्, किनभने एकैपटक पाँच पतिको पत्नी बन्नुपर्यो । त्यसपछि पनि कहिले वनजङ्गल बस्दा, कहिले राजसभामा अपमानित हुँदा, अनेक पटक जीवनमृत्युको लडाइँबाट गुज्रँदा उनको जीवनमा सन्तोष नै कहाँ रह्यो र ? द्रौपदीले मलाई सखा मानेकी थिइन् । उनको मप्रतिको विश्वासलाई कायम राख्न सकिन कि ? उनले मलाई पुत्रको हत्यापछि जुन प्रश्नहरू गरिन् त्यो प्रश्नको उत्तर दिने शक्ति ममा नहुँदा नै शायद उनलाई थाहा भयो होला कि ? उनको मप्रतिको विश्वास खोक्रो थियो कि ?
यो युद्ध हुने कि नहुने भनेर छलफल गर्दा द्रौपदीले मलाई भनेकी थिइन्–‘हे कृष्ण ! युद्ध नभएर, कौरव कुलको नाश भएन भने दुर्योधनको रगतले मेरो कपाल धुने प्रतिज्ञा कसरी पूरा होला ? भीमले दुःशासनको रगत पिउने प्रतिज्ञा कसरी पूरा होला ? हे कृष्ण, तिमीले दुर्योधनको सभामा भएको मेरो अपमान बिस्र्यौ ? तिमी त्यहाँ नभएर मलाई सारी नओढाएको भए, म नग्न हुन्थेँं र यो दृश्य हेर्थें । मेरा सबै पति, पितामह भीष्म र गुरु द्रोण, कसैले पनि मेरो त्यत्रो अपमानको विरुद्धमा बोलेनन् । मानौं म एउटा काठको वस्तु थिएँ । अन्धा सम्राट् धृतराष्ट्र, विवेकको अन्धो दुर्योधन र मलाई अपमानित गर्ने दुःशासनलाई अहिलेसम्म कसैले दण्ड दिएको छैन । म यही युद्धको आशामा बसिरहेकी थिएँ कि मेरा सबै अपमानको बदला यही युद्धबाट लिइनेछ । त्यसैले हे कृष्ण, तिमी दुष्ट दुर्योधनको सभामा गएर शान्तिको कुरा नगर, युद्ध हुन देऊ । हस्तिनापुरको विवेकहीन दरबारका विवेकहीन सम्राट् र सभासदलाई देखाइदेऊ कि एउटा दुष्ट पुत्रको कुकर्मलाई ढाकछोप गर्दा कसरी राज्य नष्ट हुन्छ ।’
द्रौपदीले आवेशमा आएर अनुहार रातो पार्दै भनेका कुरा सुनेर सम्पूर्ण सभा स्तव्ध भएको थियो । शान्तिका लागि मलाई आग्रह गरिरहेका युधिष्ठिर शिर निहुराएर बसेका थिए । उनी के बोल्न सक्थे र ? द्रौपदीको त्यत्रो अपमान हुनु र आफ्नो अपमानपछि हस्तिनापुरको राजसभामा द्रौपदीले दुःशासनको रगतले कपाल धुने प्रतिज्ञा गर्नुको पछाडि के युधिष्ठिर दोषी थिएनन् र ? उनले आप्mनी पत्नीलाई एउटा वस्तुसरह मानेर जुवामा हारेका थिएनन् र ? स्तब्ध भएको त्यो सभामा मैले बोल्न करै लागेको थियो । ‘हे द्रौपदी, युद्धमा तिम्रो प्रतिज्ञा त पूरा होला, तर हजारौं निर्दोष मानिसहरूको ज्यान जानेछ । हजारौं आमा, पत्नी र दिदीबहिनीको शोकले यो ठाउँ कोलाहलमय हुनेछ । सो सुन्दर राज्य तहसनहस हुनेछ । युद्धले कसको कल्याण गरेको छ र ?’ त्यसैले युद्धलाई रोक्ने प्रयास त गर्नैपर्छ । जहाँसम्म तिम्रो अपमानको सवाल छ, तिमीले त्यसका लागि क्षमा दियौ भने त्योभन्दा ठूलो कुरा केही हुनेछैन, किनभने तिमीले क्षमा दिए युद्ध रोकेर, मानिसहरूको ज्यान बचाउन सकिनेछ ।’ मेरो कुरा सुनेर द्रौपदी केही मत्थर भएकी थिइन् । पाण्डवहरूको मुख केही उज्यालो भएको थियो । तर, अपसोच द्रौपदीलाई युद्धका लागि आग्रह नगर्ने मैले दुष्ट दुर्योधन र अविवेकी सम्राट् धृतराष्ट्रलाई यो कुरा बुझाउन सकिन । उनीहरूको मूर्खता र विवेकहीनतालाई भीष्मले नचाहेर पनि मान्नु परेको थियो ।
म शान्तिदूत भएर सभामा जाँदा भीष्म पनि प्रसन्न भएका थिए, शान्ति भइहाल्छ कि भन्ने आशामा । तर शान्तिको कुरा गर्दा दुर्योधनले कठोर स्वरमा भने– ‘नगर कृष्ण तिमी शान्तिको कुरा । युद्धमा नै सबै कुराको निर्णय हुनेछ ।’ मैले भनेको थएँ – ‘दुर्योधन, यो युद्ध तिमीले सोचेभन्दा भयंकर हुनेछ । सायद तिमीले सोचेका हौला कि भीष्म र द्रोणजस्ता महारथिहरू भएपछि तिम्रो जीत निश्चित छ । तर, विचार गर पाण्डव पक्ष कमजोर छैन । उनीहरूलाई सत्यको साथ छ, जनताको साथ छ ।’ कृष्ण ! दुर्योधनले ठूलो स्वरले भनेका थिए– ‘तिमी गाउँको ग्वाला र मख्खन चोरलाई के थाहा भीष्मको शक्ति ? द्रोणको बहादुरी ? तिमी त लडाइँबाट भागिहिँड्ने मान्छे हौ । हामीलाई तिम्रो शान्तिको सन्देश चाहिँदैन ।’ दुर्योधनको वचनबाट कत्ति पनि विचलित नभई मैले भनेको थिएँ– ‘हे दुर्योधन, युद्धहरू शक्तिको भरबाट मात्र लडिँदैन । सत्य जसको पक्षमा हुन्छ, विजय त्यसैको हुन्छ । त्यसैले तिमी महारथि र शस्त्रअस्त्रको बारेमा कुरा नगर । सुखी जनताको तिमी सम्राट् बन्नेछौ । तिम्रो वास्तविक शक्ति त त्यहाँ हुनेछ । तिमीले पाण्डवहरूलाई सम्पूर्ण राज्य फर्काउन चाहेनौ भने उनीहरूलाई केवल पाँचवटा गाउँ मात्र फर्काइदेऊ । त्यति भए उनिहरू युद्ध रोक्न तयार छन् ।’
दुर्योधनले अट्टाहास गरेर भनेका थिए– ‘धिक्कार काँतर पाण्डवहरू ! युद्धबाट जसरी भए पनि हट्न तयार छन् । त्यस्ता लाछीहरू यस पृथ्वीका भार हुन् । त्यस्तालाई म पाँच गाउँ त परै जाओस् एउटा सियोबरावरको भूमि पनि दिन्न । जाऊ तिमीहरूलाई युद्धको मैदानमा भेटौंला भनिदेऊ ।’ दुर्योधनको यो कुरा र अट्टहासले भीष्मलाई व्यथित बनाएको थियो । धृतराष्ट्रचाहिँ केही नभएको जस्तै गरेर बसिरहेका थिए । उनलाई पनि यो युद्धमा कौरवको जीत हुन्छ र आफ्नो जेष्ठ पुत्र सम्राट हुनका लागि बाटो खुल्नेछ भन्ने विश्वास थियो । ओहो ! धृतराष्ट्रले यो मनन गर्न सकेनन् कि उनको मूर्ख छोराको इच्छा शान्त पार्न कतिजनाको शरीर लासमा परिणत हुनेछ ।
विचरा ! ती धृतराष्ट्र आज यो युद्धको समाप्तिपछि आफ्ना प्रियजनलाई गुमाएर श्राद्ध गर्नका लागि बसेका छन् । के अहिले युद्ध नभएको भए हुन्थ्यो भनेर विचार गरेका होलान् ? यता द्रौपदी युद्ध जितेर पनि आफ्ना सन्तानको हत्याले दुःखी छिन् । गान्धारीको आँसु सायद बग्दाबग्दै सुकिसक्यो । दरबार श्मसान भूमिमा परिवर्तन भएको छ । के दियो त महाभारतको युद्धले ? पराजित अनि विजेता पक्ष सबैलाई दुःखी बनाउने यस्तो युद्धमा मानवजाति अझै कति होमिनुपर्ने हो । अझै यो पृथ्वीमा कतिपटक विवेकहीन अन्धा सम्राट् र विवेकहीन दुष्ट युवराजहरू जन्मिएलान् । यस्तै युद्ध कति पटक होला । कति मानिस मर्लान् । यिनको लेखाजोखा कसले राख्ने ? युद्धको विरुद्धमा सबै मिलेर बोल्ने समय र शान्तिको दियो बाल्ने समय पृथ्वीमा कहिले आउला ?































प्रतिक्रिया