काठमाडौं,
भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ ।
नेपाली बजारमा छापावाला सुनको मूल्य बुधबार ७३ हजार ५०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार पनि सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भई तोलाको ७२ हजार ५०० मा कारोवार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला ७२ हजार २०० मा कारोवार भएको थियो । सुनको मूल्य वृद्धिसँगै चाँदीको मूल्य पनि उच्च वृद्धि भएको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला ३५ ले वृद्धि भई ९४० पुगेको छ ।
पछिल्लो १५ दिनमा सुनको मूल्य छ पटक बढेको छ भने तीन पटक घटेको छ । भदौको शुरुआतदेखि आजसम्म सुनको मूल्य प्रतितोला दुई हजार ५०० ले वृद्धि भएको छ । भदौ १ गते छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७०० कायम भएको थियो ।
साउन महीनाको शुरुआतदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महीनामा मात्रै सुनको मूल्य करीब सात हजार ५०० ले वृद्धि भएको थियो ।































प्रतिक्रिया