भक्तपुरमा गाडीका ब्याट्री चोर्ने गिरोह सक्रिय

भक्तपुरमा गाडीका ब्याट्री चोर्ने गिरोह सक्रिय

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,

भक्तपुरमा पार्किङ गरिराखिएका चारपांग्रे गाडी तथा वर्कसपहरुमा रहेका ब्याट्री चोर्न गिरोह नै सक्रिय रहेको तथ्य खुलासा भएको छ । गिरोहमा ब्याट्री कम्पनीका व्यक्तिसँगै वर्कसप र कवाडी व्यवसायी संलग्न रहेको पाइएको छ ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले पार्किङमा राखिएको गाडीको ब्याट्री चोर्ने एकजनालाई नियन्त्रणमा लिएपछि उक्त गिरोह प्रकाशमा आएको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले पार्किङमा राखिएका गाडीको ब्याट्री चोर्ने सुनसरीको इटहरी उपमहानगरपालिका १ घर भइ हाल भक्तपुरको मध्यपुर थिमि नपा ९ राधेराधे बस्ने २२ वर्षीय मनोज सापकोटालाई नियन्त्रणमा लिएपछि ब्याट्री चोर्ने गिरोहको लहरो भेटिएको जानकारी दिए ।

वृत्तले सापकोटालाई भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलको आदर्शबाट शनिबार राति नियन्त्रणमा लिएको उनले बताए । ‘शनिबार राति आदर्शस्थित सडकमा पार्किङमा राखिएका विभिन्न ६ वटा गाडीबाट एकैपटक १० वटा ब्याट्री चोरी भएको थाहा पाए’, प्रनाउ जोशीले भने, ‘लगत्तै खोज तलास गर्दा स्थानीयले शंकास्पद रुपमा हिँड्दै गरेका मनोजलाई औजारसहित फेला पारेर नियन्त्रणमा लिएर हामीलाई खबर गरे । अनि हामीले नियन्त्रणमा लियौं ।’

नियन्त्रणमा लिएका सापकोटासँग केरकार गर्दा उनले दोलखाको वैदेश्वर घर भइ हाल सूर्यविनायक नपा ३ बस्ने ३१ वर्षीय विमल श्रेष्ठसँग मिलेर रातको समयमा ब्याट्री चोर्ने गरेको खुल्न आएको उनले बताए ।

यसरी मनोज र विमलले चोरेका ब्याट्री भारतको मोतीहारी जिल्लाको पताही थाना घर भई हाल भक्तपुरको ठिमी बस्ने २१ वर्षीय चन्दनकुमारलाई बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुल्न आएको जगाती वृत्तले जनाएको छ । चन्दनकुमारले पनि भारतको मुजफरपुर पूर्वी चम्पारण घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका ३ धोबीघाटमा कवाडी पसल सञ्चालन गर्दै आएको सुरेन्द्र चौधरीलाई बिक्री वितरण गर्ने गरेको भेटिएको वृत्तका प्रमुख प्रनाउ जोशी बताउँछन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo