तीज पर्व चेलीमाइतीबीचको सौहार्द सम्बन्ध अभिवृद्धि गर्ने पर्वका रूपमा विख्यात छ । तीजको कुरा गर्नेबित्तिकै हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । आडिला, पोसिला एवं सुस्वादु परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् ।
चेलीमाइतीबीच सुमधुर सम्बन्ध राख्ने, माइतघर जाने, दुग्धजन्य अडिला परिकार खानेभन्दा पनि पार्टी प्यालेसमा भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, मासुमाछा र मदिराजन्य तामसी परिकार खाने प्रवृत्ति बढ्दो छ । खासमा तीज के हो ? किन मनाइन्छ ? कसरी मनाउन सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता के हो ? यसको मौलिक स्वरूप के हो अनि अहिले तीजको स्वरूप कसरी फेरिदै गएको छ भन्ने विषयमा यहाँ संक्षिप्त चर्चा गरिएको छ ।
तीज किन मनाइन्छ ?
आज वास्तविक दर खाने दिन । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । तीजको दर खान धेरै अघिदेखि नै सुरु भएको छ जुन आज खाएपछि सकिन्छ । दर खाएको भोलिपल्ट महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । यसबाट तीज पनि अछुतो छैन ।
हिजोआज तीज भड्किलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ ।
तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ ।
विशेष गरी हाम्रोजस्तो तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका सनातन धर्मावलम्बी महिलाहरूले मात्र मनाउँछन् भन्दा फरक पर्दैन । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक एवं संस्कारगत पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भन्ने कामनाका साथ तीजको व्रत बस्ने चलन छ ।
धार्मिक दृष्टिमा तीज

तीज वैदिक सनातन धर्मप्रति आस्था राख्ने आर्य नारीहरूको एक महत्वपूर्ण पर्व हो । यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमवार परेमा तीजको महत्व बढ्छ । यी तीन चीजबाट जन्मिएको हुनाले यसलाई संस्कृतमा त्रीज भनियो । त्यसैबाट अपभ्रंश हुँदै नेपालीमा तीज शब्दको प्रयोग भएको हो ।
तीजको धार्मिक र ऐतिहासिक पक्षमा विचार गर्दा शिवगौरी संवादसम्म पुग्नुपर्ने हुन्छ । थोरै परिश्रमले ज्यादा फल प्राप्त हुने व्रत उपवासको बारेमा उठेको पार्वतीको जिज्ञासा शान्त पार्न भगवान् शिवजीले हरितालिकाको व्रत विधान बताएका थिए । जसमा माथि भनिएअनुसारका तीनै चीजको संयोग भएको समयमा उपवास गरी उपासना र आराधना गर्नाले सम्पूर्ण किसिमका पापराशिहरूबाट मुक्ति पाइने कुराको उल्लेख पाइन्छ । त्यस्तो समयको व्रतलाई उत्तम कोटिको व्रत मानिन्छ । त्यस्तो संयोग यदाकदा मात्र सम्भव हुन्छ ।
भाद्रमासे सिते पक्षे तृतीया हस्तसोमयुक् ।
तदनुष्ठानमात्रेण सर्वपापैः प्रमुच्यते ।।
शिवजीलाई नै पति रूपमा प्राप्त गर्ने पार्वतीको चाहना र तपस्या विरुद्ध हिमालय पर्वतले विष्णुलाई विवाह गरिदिने कुराको विद्रोह गर्दै पार्वतीका संगीसाथीहरूले जङ्गलमा लगेर लुकाएर राखेको हुनाले यसलाई हरितालिका भनिएको हो । संस्कृतमा आलि भनेको साथी हो र आलिभिर्हरिता साथीहरूद्वारा हरण गरिएकी भनेर हरितालिका नाम रहन गएको हो । यसको नामको सम्बन्धमा शिवजीले पार्वतीलाई यसरी बताएका छन् :
नामस्य व्रतराजस्य श्रृणु देवि यथाभवम् ।
आलिभिर्हरिता यस्मात्तस्मात्सा हरितालिका ।।
तीजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ ।
विशेष गरी यो पर्वले व्रत, उपवास र उपासनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको कुरा बुझ्न सकिन्छ ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग वा दतिवन लेपनले छालामा हुने एलर्जी हटाउँछ ।
पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरो भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।
तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ ।
तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ । तथापि यसलाई त्यतिमै सीमित गर्न भने मिल्दैन । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ ।
सामाजिक दृष्टिमा तीज

नेपाल कृषिमै आश्रित मानिसहरूको बाहुल्य रहेको देश हो । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइत लिएर फर्कने प्रचलन छ । यसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।
केही वर्षयतादेखि व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै गएको छ । कतिपय मध्यम वर्गीय घरमा सामाजिक संस्कार फेरिएका छन् ।
विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन बढ्न थालेको छ । यसले माइती पक्षलाई छोरीका निम्ति थप आर्थिक भार बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । दर पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, नन्द, आमाजूसमेतलाई गरगहना, पहिरन, जुत्ता, शृंगार सामग्री आदिका साथै ११ किसिमका परिकार पठाउनुपर्ने चलनको थालनी भएको छ ।
यसका साथै महिनौं अघिदेखि दर खानेखुवाउने नाममा हुने तडकभडकले पनि यो पर्वको पवित्रता एवम् मूल मर्ममाथि प्रहार भएको देखिन्छ । हुनेखाने वर्ग त यस्तो चलनमा रमाउलान्, हुँदा खाने वर्गले पनि देखासिकी गर्न खोज्दा तीज सामाजिक भारका रूपमा उदाउँदै गएको आभास हुन्छ । यसले समाजमा वर्गीय विभेदको नयाँ समस्या जन्माउन सक्ने कुराप्रति पनि नजरअन्दाज गर्न सकिँदैन ।
यो चलनको दुष्प्रभावस्वरूप धेरै बुहारी भएको घरमा कसले कति ल्याउने भन्ने अनावश्यक होड तथा टिप्पणी हुने गर्छ । कम ल्याउने बुहारीलाई होच्याउने, अपमान गर्ने र बढी ल्याउने बुहारीलाई बढी सम्मान दिने गलत एवं अनावश्यक प्रतिस्पर्धाले नेपाली समाजको सामाजिक सद्भाव र मेलमिलापमै असर पार्न सक्छ ।
यस्ता सामाजिक व्यवहारले तीजको वास्तविक उद्देश्यलाई ओझेलमा पारेको छ । यस्ता गलत प्रवृत्ति हटाउने हो भने तीजको सामाजिक महत्व अत्यन्त ठूलो छ ।
सांस्कृतिक दृष्टिमा तीज

मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदाय त्यसमा पनि आर्य नारीहरूले मनाउने तीज पर्वलाई अहिले अन्य जातजातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दै छ ।
तीजमा गीतसंगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुःख, ईर्ष्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् । जसमा पुरुषहरू समेत मिसिन थालेका छन् ।
चुल्होचौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन । टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु राम्रो कुरा हो ।
तीजलाई परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानु आजको आवश्यकता हो । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नु युवापुस्ताको दायित्व हो । तर तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु यो पर्वको मर्मलाई निमोठ्नु हो ।
आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ ।
पारम्परिक दृष्टिमा तीज

हिमालयपुत्री पार्वतीबाट सुरु भएको मानिने तीजको परम्परा निकै पुरानो छ । हरितालिका तीजको व्रत पवित्र मनवचनका साथ बस्दा अविवाहितले चिताएको वर पाइने तथा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ । त्यस्तै हरितालिका तीजको व्रत सकिएपछि मनाइने पञ्चमीको परम्परागत महत्व भने फरक छ ।
चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण नारीले यो दिनलाई आफ्ना लागि मनाउँछन् । पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जानअन्जानमा भएगरेका कायिक, वाचिक एवं मानसिक गल्तीका कारण भोग्नुपर्ने कष्टबाट मुक्ति पाइन्छ भन्ने मान्यता छ ।
यो दिनलाई महिलाको रजस्वलासँग प्रत्यक्ष जोडेर हेर्ने परम्परा छ । युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गर्छन् । तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ । हिजोआज तीजको यो पक्ष कमजोर बन्दै गएको देखिन्छ ।
सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्व उत्तिकै छ । तीजमा अडिलो चाम्रे, अनदीको लट्टे, तिलको छोप हालिएको करेलाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई व्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खानेजस्ता परम्परागत संस्कार छ । जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त हुँदैन । तसर्थ यसको परम्परालाई मौलिक रूपमा संरक्षित गर्दै अघि बढ्नुपर्ने खाँचो छ ।
निष्कर्ष
पहिले नेपाली महिलाहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एक दिन भए पनि मीठोमसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि दर खाने दिन पर्खेर बस्थे ।
त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि मनका गथासो खोल्दै धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व हो जसको पर्खाइमा उनीहरू व्यग्र हुन्थे ।
यद्यपि आजको पुस्ताले देख्ने तीज पहिलेको तुलनामा निकै फरक छ । अहिले तीजको धार्मिक पक्षभन्दा पनि अन्य पक्षहरूलाई नै बढी जोड दिएको देखिन्छ । हिजोआज तीज पर्वका सन्दर्भमा नितान्त भिन्न संस्कृतिको विकास भइरहेको छ ।
पारिवारिक जमघटमा मात्र नभई सामाजिक राजनैतिक तथा संस्थागत रूपमा समेत आयोजना गरिने तीज कार्यक्रमको समय अवधि प्रतिवर्ष लम्बिंदै छ भने अनावश्यक रूपले खर्चिलो समेत बन्दै गइरहेको छ । तीजको प्रमुख पक्ष गौण बन्दै अन्य पक्षले प्रमुख स्थान पाउँदै गइरहेको छ । यस्तै अवस्था रहिरहन दिने हो र विकृतिलाई अँगाल्दै जाने हो भने यो पर्वको मूल मर्म नै ओझेलमा पर्नेछ र तीज खानपान र मोजमस्तीकै पर्यायका रूपमा मात्र जीवित रहनेछ ।































प्रतिक्रिया