काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सानेपास्थित पार्टी कार्यालयमा शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न परिस्थिति र आगामी रणनीति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि शुरु भएको हो । बैठक शुरु भएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले यस अघि नै पदाधिकारी बैठकबाट निर्णय गरी प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गरिसकेको र थप धारणा निर्माण गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बसेको बताए।
कांग्रेसले प्रधानमन्त्री ओलीले चालेको कदमलाई असंवैधानिक भनिसकेको र प्रधानमन्त्री ओलीमा उत्पन्न भएको अधिनायक आकांक्षाको प्रतिरुप भएको पनि प्रवक्ता शर्माले बताए । उनले भने, ‘प्रधानमन्त्रीले जे कदम चाल्नु भयो यो असंवैधानिक छ । यो अधिनायक आकांक्षाको एउटा प्रतिरुप हो । सर्वसत्तावाद तर्फ जाने प्रयत्न हो । संविधानमा भएको व्यवस्था भन्दा बाहिर गएको अवस्था छ । नेपाली कांग्रेस पार्टीले यो बेलामा जिम्मेवार भूमिकाको रुपमा हामीले कदम गर्नुछ ।’
प्रधानमन्त्री ओलीको कदमले स्थिरताको सन्दर्भमा संविधानमा गरिएको व्यवस्थालाई ध्वस्त पारेको पनि प्रवक्ता शर्माले बताए। संविधानले निर्दिष्ट गरेको प्रक्रिया भन्दा बाहिर गएर प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीसँग नरहेको पनि बताए ।































प्रतिक्रिया