छोरीमाथि चरित्रहीनताको आरोप लागेपछि बाबुले गरे आत्महत्या

छोरीमाथि चरित्रहीनताको आरोप लागेपछि बाबुले गरे आत्महत्या

केन्द्रबिन्दु
0
Shares

  • रवि प्रकाश

झारखण्ड, भारत । ३५ वर्षीय तेतरी देवी उदास छिन्, उनका अगाडि जिम्मेवारीको पहाड तेर्सिएको छ । उनको एक्लो काँधमा आफ्ना पाँचजना बालबच्चाको भरणपोषण गर्ने जिम्मेवारी छ ।

आफ्ना पति कुलदीप प्रजापति अघिल्लो हप्ता झुण्डिएर मरेपछि तेतरीदेवी एक्लिएकी छिन् । बालबच्चा त छँदै छन्, आफ्ना पतिको श्राद्धका लागि आवश्यक चामल तथा अन्य आवश्यक सामग्री कसरी जुटाउने भन्ने पिरलो पनि उत्तिकै छ ।

राँचीदेखि २ सय १५ किलोमिटर टाढा मुसुरमू गाउँ छ । त्यही गाउँमा छ तेतरीदेवीको झुपडी । उनी पतिले भनेको सम्झन्छिन्– ‘वर्षात् सकिएपछि म खाली सिलिन्डर भरिदिन्छु । तँलाई सुख हुन्छ ।’ तर यसरी वाचा गर्ने श्रीमान् नै रुखमा पासो लगाएर मरेपछि तेतरीदेवीको जीवनबाट रंग उडेको छ ।

आत्महत्याको कारण

तेतरी देवीले बीबीसीसँग भनिन्, ‘१८ अगस्टको बिहान गाउँको स्कुलमा मेरै जातिका मानिसहरूको पञ्चायत बस्यो । त्यसमा मेरा पतिलाई पनि बोलाइयो । त्यहाँ हाम्री छोरीलाई चरित्रहीनताको आरोप लगाइयो ।’

तेतरीले भनिन्, ‘यसका लागि मेरा पतिलाई ४० हजार रुपैयाँ जरिवाना तिर्न र सबैका अगाडि उठबस गर्न भनियो । यो कुराको विरोध गरेपछि उनलाई सबै मिलेर पिटे । त्यहाँ उपस्थित मेरा दाइ राजेन्द्रले सात हजार रुपैयाँ जरिवाना रकम बुझाए र यो विवादलाई यत्तिमै टुङ्ग्याउने अनुरोध गरे । तर उनीहरूले इन्कार गरे ।’

तेतरी भन्छिन्, ‘मेरा पति त्यहीँबाट घर नआई जंगलतिर गए । उनलाई मैले अन्तिमपटक त्यतिबेलै देखेकी हुँ । हामीलाई उनी फर्केर आइहाल्छन् भन्ने लागेको थियो । तर तीन दिनपछि उनी आए लास बनेर, अर्काको काँधमा बोकिएर ।’

तेतरीदेवी भन्छिन्, ‘मेरी जुन छोरीलाई चरित्रहीन भएका आरोप लगाइयो, उसको उमेर मात्र १५ वर्ष छ । मेरी छोरीले कुनै गल्ती गरेकी छैन ।’ कटहर टोलाकै महेश्वर यादव किसान हुन् । उनले पनि तेतरी देवीको कुरामा समर्थन जनाए र भने कि कुलदीप प्रजापति असल थिए । उनको व्यवहार निकै राम्रो थियो ।

यादवले बीबीसीसँग भने, ‘पञ्चायतको कुरा थाहा पाएपछि हामी स्कुल पुग्यौँ । कुम्हालेहरूले हामीलाई त्यहाँबाट हट्न भने । त्यो उनीहरूको जातीय पञ्चायत भएकाले हामीलाई त्यहाँ बस्न अनुमति दिइएन । बाहिर ठूलो पानी परिरहेको थियो, हामी अलि परको अर्को कोठामा गएर बस्यौँ । कुलदीपलाई पिटिरहिएको थियो ।

कुलदीपले त्यति रकम तिर्न सक्दिन भनेपछि पञ्चायतमा सामेल मानिसहरूले रकम घटाएर ११ हजार बनाइदिए, तर त्यति पैसा पनि उनीसँग थिएन, त्यसैले उनका जेठान राजेन्द्र प्रजापतिले सात हजार दिए ।’

तीन अभियुक्त गिरफ्तार

तेतरी देवीले थानामा किटानी जाहेरी दिएपछि तीनजना अभियुक्तलाई पुलिसले समातेको छ । थानेदार धूमा किस्कूले बीबीसीसँग भने– तेतरी देवीले सात जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

जसमध्ये ४ जना उनकै गाउँका र ३ जना छिमेकी गाउँका हुन् । हामीले पनि यस घटनाका विषयमा विस्तृत जाँच गर्यौं जसबाट कटहर टोलाको स्कुलमा प्रजापति समाजका मानिसहरूको पञ्चायत बसेको कुरा पुष्टि भयो । जसमा मृतक कुलदीप प्रजापतिकी छोरीमाथि चरित्रहीनताको आरोप लगाइएको थियो ।’

अभियुक्तहरूका घरमा पनि महिला मात्र

अभियुक्तहरूका घरमा अहिले महिला मात्र छन्, पुरुषहरू फरार छन् । यसै घटनाका एक अभियुक्तकी पत्नी गीता देवीले भनिन्, ‘मेरा पति निर्दोष छन् । उनी उक्त घटनापछि घरमा छैनन् । हामीलाई उनको चिन्ता भइरहेको छ । हामी आफ्ना बालबच्चासँग बसिरहेका छौँ ।’
(बीबीसी हिन्दीबाट साभार)

Skip This
Skip This
Logo