भनिन्छ, नठोसी अगुल्टो बल्दैन, तसर्थ जुनसुकै सम्बन्धमा पनि बेलाबेलामा सामान्य ठाकठुक हुनुलाई नराम्रो मान्न सकिँदैन । तर जब सामान्य ठाकठुक ठूलो घटनाको कारक बन्दछ, त्यतिबेला लोग्नेस्वास्नीको झगडा परालको आगो नबनेर भुसको आगो बनिसकेको हुन्छ । यस्तो अवस्थाले दाम्पत्य जीवन नै टुङ्ग्याइदिन सक्छ । तसर्थ कुन तहसम्म विवाद गर्ने र यसका कारण के हुनसक्छन् भन्ने विषयमा जानकार भइराख्नु राम्रो हुन्छ ।
पतिपत्नीको सम्बन्धमा सामान्य विवाद हुनु र मेलमिलाप पनि छिटै हुनु राम्रो हो । किनभने यसले प्रेमभाव जगाउन मद्दत गर्छ । दाम्पत्य जीवनमा कत्ति पनि विवाद भएन भने त्यो जीवन निरस एवं पट्यारलाग्दो हुन्छ । फेरि अर्कातिर विवादले उग्र रूप लियो भनेचाहिँ त्यसले माया बढाउनु त परको कुरा सम्बन्ध नै सिध्याइदिन सक्छ । यहाँ दाम्पत्य जीवनमा झगडा हुनसक्ने कारणहरू औंल्याइएको छ :

रोमान्सको अभाव
श्रीमानश्रीमतीबीच रोमान्स आवश्यक पर्छ । सामान्य अवस्थामा वैवाहिक जीवन लामो हुँदै जाँदा सुरुसुरुमाजस्तो रोमान्स बाँकी रहँदैन । उनीहरूको समय परिवार र बालबच्चाकै लालनपालन र घरव्यवहार हेर्नमा बित्छ । फलस्वरूप रोमान्सको त कुरै छाडौँ एकअर्कालाई पर्याप्त समय पनि दिन पाउँदैनन् । यसो भएपछि पतिपत्नीबीच वैमनस्यता बढ्छ र झगडा पर्न थाल्छ ।
साथीभाइसँग बढी समय व्यतीत गर्नु
अफिस छुट्टी भएपछि साथीभाइसँग रमाइलो गर्नु त ठीकै हो । तर आफ्ना श्रीमानश्रीमतीलाई समय नदिई साथीसँगीसित समय बिताउनु पनि दाम्पत्य जीवनमा समस्याको कारण बन्नसक्छ । एकअर्काको भावना बुझ्नु, आफ्नो लाइफ पार्टनरको खुसी केमा छ भनेर ध्यान नराख्नुजस्ता कारणले दुवैको मन दुख्छ । साथीभाइसँग बढी समय बिताएपछि आफ्नो परिवारलाई दिने समय कम हुन्छ र यो झगडाको कारण बन्नसक्छ ।
सामान्य कुरामा लापरवाही
दम्पतीमध्ये एकजनाले सरसफाइमा ध्यान दिन्छन् र अर्काले दिँदैनन् भने पनि समस्या सिर्जना हुन्छ । मानिसले आफ्नो स्वभावअनुसार अरूले पनि आफूले जस्तै गरोस् भन्ने चाहन्छ । आफ्ना पार्टनरले आफ्ना सामान उपयुक्त स्थानमा राखून्, घरको सरसफाइमा मिलेर काम गरून् भन्ने चाहना हुन्छ । यस्ता कुरामा एकअर्काको काम र व्यवहार अपेक्षाअनुसार भएन भने मनमुटाव सुरु हुन्छ । यस्तो अवस्थामा नियमित झगडा हुनुको विकल्प रहँदैन ।
खानपानमा एकरसता
हरेक व्यक्ति सधैं एकै प्रकारको खाना खान मन गर्दैन । हरेक दिन भिन्दाभिन्दै किसिमको खाना खान र स्वाद फेर्न जसलाई पनि मन लाग्छ । यद्यपि विभिन्न परिस्थितिले यस्तो चाहना पूरा नहुनसक्छ र यसबाट समस्या सिर्जना हुनसक्छ । बिहान आलु प्याज, बेलुका प्याज र आलु भनेजस्तो खानपान भयो भने कसलाई दिक्क लाग्दैन र ? अनि यो नै झगडाको कारण बन्दछ ।
छुट्टी नलिनु
श्रीमान वा श्रीमतीले अफिस वा आफ्नो कामबाट छुट्टी नलिने, खालि काममै मात्र जोतिइरहने बानी भएमा जीवन रसहीन बन्दछ । अनि दम्पतीबीच एकअर्कालाई दोषारोपण गर्न थाल्छन्, गुनासो गर्न थाल्छन् । यस्तो भएपछि जुनसुकै बेला पनि श्रीमानश्रीमतीबीच झगडा पर्न थाल्छ ।
सरप्राइज दिन बन्द गर्नु
श्रीमानश्रीमतीले एकअर्कालाई विवाह भएको केही समयसम्म सरप्राइज दिन्छन् । तर समय बित्दै जाँदा सरप्राइज दिन बन्द हुन्छ । जसका कारण पार्टनरलाई आफ्नो पार्टनर परिवर्तन भएको अनुभव हुन्छ । पहिलाजस्तो आफूलाई माया नगरेको सोच दुवैममा पलाउन थाल्छ, आफूलाई बेवास्ता गरेर अन्ततिरै सल्केको हो कि भनेर शंका उब्जन थाल्छ । यस्तो भएपछि झगडा हुनुको कुनै विकल्प बाँकी रहँदैन ।































प्रतिक्रिया