काठमाडौं,
‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटाको प्रयोग व्यापक हुँदै आएको छ ।
फोटोग्राफीको विकाससँगै कतिपय विकृति पनि बढेका छन् । विशेषतः ‘डिजिटलाइज’ प्रविधिको प्रयोगसँगै कतिपय अवस्थामा नैतिकता र मर्यादाका प्रश्न पनि उठ्ने गरेका छन् ।
आज १८० औँ विश्व फोटोग्राफी दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तका अनुसार समूहले ‘सत्यतथ्य खोजीका लागि फोटो पत्रकारिता’ मूल नाराका साथ धादिङमा विशेष कार्यक्रम गर्ने भएको छ ।
यति लामो इतिहास पार गरिरहँदा फोटोग्राफीको कला, प्रयोग र प्रविधिबारे नयाँ बहस आउन थालेको छ । वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले युवापुस्तामा फोटोग्राफीको आकर्षण बढिरहेको अनुभव सुनाउँदै भन्नुभयो, ‘ “फोटो पत्रकार र सोखिन फोटोग्राफर भनेको फरक हो । पत्रकारले नैतिकता, नियम बुझेर फोटाहरू राख्नुपर्छ तर सोखिनले भने जुनसुकै फोटो सामाजिक सञ्जालमा राखेकै हुन्छ, त्यस्तो गर्नुु गलत हो । फोटोलाई सार्वजनिक गर्दा विचार पु¥याउनुपर्छ । ”
हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकारका अनुसार संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्ने गरिएको छ । औपचारिक रूपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।
गोरखापत्रबाट































प्रतिक्रिया