कांग्रेससँग सहकार्य गर्ने दाहालकाे प्रस्ताव

कांग्रेससँग सहकार्य गर्ने दाहालकाे प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँग प्रतिनिधिसभा विघटनको निर्णय उल्टिएर सरकार र निर्वाचनमा जानुपर्ने अवस्था आए संयुक्त चुनावी सहकार्यका लागि प्रस्ताव गरेका छन् । कांग्रेसले सोमबार बोलाएको सर्वदलीय बैठकमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र साझा कार्यक्रमका साथ सडक संघर्षमा उत्रिने प्रस्ताव पनि राखेका छन् ।

उनले प्रस्ताव राख्दै कांग्रेसको दृष्टिकोण मागेका थिए । बैठकमा कांग्रेस, नेकपाको दाहाल–माधव नेपाल समूह र जनता समाजवादीका नेताको उपस्थिति थियो ।

दाहालको प्रस्तावका सन्दर्भमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि कांग्रेस नेताहरूसँग सामूहिक जिज्ञासा राखेका थिए । नेकपाको दाहाल–नेपाल समूह कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिकामाथि धेरै अघिदेखि संशकित हुँदै आएको थियो । संवैधानिक आयोगका पदाधिकारीको सिफारिस गर्दा देउवाले प्रस्ताव गरेका व्यक्तिहरू परेकाले पनि उनीहरूलाई थप सशंकित बनाएको थियो । ‘प्रधानमन्त्री ओली र देउवाबीच भित्री साँठगाँठ रहेको आशंकामा नेकपाका नेताहरू कांग्रेससँग प्रस्ट हुन चाहेको देखियो’ स्रोतले भन्यो, ‘देउवाजीले के गर्नुहोला भन्नेमा उहाँहरूलाई अलि बढी नै शंका भए जस्तो देखियो ।’

बैठकमा कांग्रेसका धेरै नेता सहभागी भए पनि सभापति देउवा र वरिष्ठ नेता पौडेलले मात्रै धारणा राखेका थिए । दुवैले मंगलबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकाले त्यसपछि मात्रै दृष्टिकोण दिन सकिने बताएका थिए । मंगलबार कांग्रेसको केन्द्रीय कार्यसमिति, नेकपाको केन्द्रीय कमिटी र जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

प्रतिनिधिसभा विघटन लगत्तै पार्टीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भनेर भर्त्सना गर्नुका साथै त्यसलाई स्वीकार गर्न नसकिने धारणा बाहिर ल्याइसकेको उल्लेख गर्दै देउवाले नेकपा नेताहरूको आशंका मेट्ने प्रयास गरेका थिए । पौडेलले पनि ओलीको असंवैधानिक कदमले व्यवस्था र प्रणालीमाथि नै प्रहार गरेको जनाउँदै त्यसविरुद्ध साझा कार्यक्रम बनाएर जान सकिने बताएका थिए ।कान्तिपुरबाट

Skip This
Skip This
Logo