ललितपुर,
हरेक वर्षझैं यसवर्ष पनि ललितपुरको पाटनमा दीप यात्रा अर्थात् मतयाः पर्व शनिबार मनाइएको छ । मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्राको भोलिपल्ट मतयाः यात्रा सुरु हुने गर्छ । ललितपुरमा चार दिशामा अवस्थित स्तम्भभित्र रहेका मठ मन्दिर र चैत्यमा पूजाआजाका साथ पैसा, अन्न आदि चढाउँदै परिक्रमा गरिन्छ । हाकुपटासी तथा विभिन्न गहनामा सजिएका महिलाको हातमा पानस अर्कोतिर ढाकाटोपीमा सजिएका पुरुषले बजाएको बाँसुरी धुनले सबैको ध्यान केन्द्रित भएको थियो ।
पाटनको मतयाः यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध रहेको स्थानीय पुजारी गुरुनाथ बज्राचार्यले बताउनुभयो । उहाँले बौद्ध धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने ‘गुँला’को सुरुआतसँगै पाटनका मानिसहरू मतयाःलाई स्वागत गर्न केही रात बाजागाजासहित सहरको परिक्रमा गर्ने जानकारी दिनुभयो ।
पछिल्लो समय यस यात्रामा युवकयुवतीको बाक्लो उपस्थिति बढेको छ । कोही परम्परागत पोसाकमा सजिएका छन् भने कोही आधुनिक फेसनमै सजिएर भए पनि जात्राको रौनक बढाएका छन् । “साथीभाइसँग मिलेर जात्रामा निस्कनुको रमाइलो नै बेग्लै हुन्छ,” च्यासलका मोनिका महर्जनले भन्नुभयो, “जात्राको रमाइलोले दिनभरको थकान मेटिदिएको छ । ”
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार यो यात्राको सुरुआत लिच्छविकालमा भएको हो । राजा बालचन्द्र देवका छोरा गुण कामदेवले पाटनका १० टोल र मङ्गलबजार, चक्रबहिल, इखा छेः, बुबहाल, हउगल, ओकुबाहाल, कोबाहाल, सौगल र नकबहिलका जनतालाई सम्मिलित गरेर यो यात्रा सुरु गरेको मान्यता छ ।
मतयाःलाई नेकु जात्रा पनि भन्ने गरिन्छ । नेवारी भाषामा ‘नेकु’ले भैँसीलाई चिनाउँछ । गाईजात्राको भोलिपल्ट मनाइने हुँदा यसलाई नेकु मतयाः भनिएको हो । नेपालभाषामा ‘मतः’को अर्थ बत्ती हुन्छ भने ‘या’को अर्थ ‘चाडपर्व’ अथवा ‘यात्रा’ हुन्छ ।
गोरखापत्रबाट































प्रतिक्रिया