काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले पार्टी एकतामा कुनै असर नपर्ने बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले पार्टी एकतालाई कुनै असर नगर्ने बताएका हुन् ।
‘हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’ उनले भनेका छन्, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’ प्रचण्डले कुनै व्यक्तिको भ्रमात्मक प्रचारमा नपर्न पनि आग्रह गरेका छन् ।
विज्ञप्ति यस्तो छ :
हाम्रो पार्टीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भर्त्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय सार्वजनिक भइसकेको छ ।
म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन । नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।
राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।
६ पौष, २०७७
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष





























प्रतिक्रिया