विश्वकप छनोट खेल्न प्रारम्भिक टोलीमा ३१ जना

विश्वकप छनोट खेल्न प्रारम्भिक टोलीमा ३१ जना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल अन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले यसअघि बन्द प्रशिक्षणमा रहेका ३६ खेलाडीबाट ३१ खेलाडी छनोट गरेका हुन् । नेपाली टोलीले विश्वकप छनोटका लागि दुई महिनादेखि तयारी गरिरहेको छ ।

यसअघि प्रशिक्षणमा रहेका पाँच जना खेलाडी बाहिरिएका छन् । बाहिरिने खेलाडीहरूमा कमल श्रेष्ठ, नीतिन थापा, सेसेहाङ आमदङ्गे, अमित तामाङ र मिक्चेन तामाङ रहेका छन् । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा नेपालसहित विश्वकप खेलिसकेका अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् । दोस्रो चरणको छनोट खेल सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ तारिखसम्म हुनेछ ।

नेपालले छनोटको पहिलो खेल सेप्टेम्बर ५ तारिखमा कुवेतसँग खेल्नेछ । होम एन्ड अवेका आधारमा खेलिने छनोट खेलमा नेपालको दशरथ रंगशालाको निर्माण कार्य नसकिएकाले नेपालले दुवै खेल कुवेतमा खेल्ने तयारी गरेको छ । कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ तारिखमा उसैको मैदानमा खेलिने एन्फाले जनाएको छ । नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ ।

नेपालले चाइनिज ताइपेईसँग सन् २०२० मार्च २६ र जोर्डनसँग सन् २०२० को जुन ४ मा दशरथ रंगशालामा खेल्नेछ । समूह चरणको अन्तिम खेल नेपालले अस्ट्रेलियासँग अक्टोबर १० तारिखमा उसैको मैदानमा र सन् २०२० को मार्च ३१ तारिखमा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले दोस्रो चरणको छनोटमा सहभागी एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । समूह विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पनि पाउनेछन् ।
अन्नपूर्णबाट

Logo