विकरालको ‘यादको मूर्च्छना’ सार्वजनिक

विकरालको ‘यादको मूर्च्छना’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गीतकार अगम विकरालको पुस्तक ‘यादको मूर्च्छना’ सार्वजनिक भएको छ । रावासावा प्राज्ञिक समाज नेपालले एक कार्यक्रमका बीच विकरालको कृति विमोचन भएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम बानियाँ लगायतले संयुक्तरुपमा कृतिको विमोचन गरे ।

विमोचित कृतिमाथि गीतकारहरु हर्क साउद, शितल कादम्बिनी र अमर वान्तुले टिप्पणी गरेका थिए । गीतकार साउदले कृतिका अधिकांश गीतमा भोगाई र भावनाका कुराहरु बढी भएको बताए । उनले भने, ‘उहाँको उपनामझैं विकराल भावहरु गीतमा बढी समेटिएको पाएँ । माटो र संस्कृतिको विषयहरुलाई पनि अधिक मात्रामा गीतमार्फत अभिव्यक्त गर्न म सुझाव दिन्छु, यो अहिलेको आवश्यकता पनि हो ।’

गीतकार कादम्बिनीले पनि कृतिमा समेटिएका गीतहरु अधिकांश वियोगी भावको रहेको आफूले पाएको बताइन् । ‘आफ्ना सिर्जनामार्फत आशावादी सोचमा जोड दिँदै जीवनलाई सुन्दर रुपमा प्रस्तुत गर्न म विकरालजीलाई आग्रह गर्दछु,’ उनले भनिन् ।

अर्का टिप्पणीकार अमर वान्तुले विकरालका गीतहरुमा आफूले संगीत भर्न चाहेको बताए । कृतिमा समावेश भएका हरेक गीतहरु उत्कृष्ट लागेकाले त्यसमा संगीत भरेर आफूले थप जीवन्तता दिन चाहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हार्तम्छालीले प्रवासमा रहेर पनि गीतकार विकरालले नेपाली साहित्य–संगीतका क्षेत्रमा पु-याएको योगदानको सराहना गरे ।

रावासावा प्राज्ञिक समाजले प्रकाशन गरेको सो कृतिमा रेकर्ड भइसेका २७ सहित १ सय ११ वटा गीत समावेश छन् । खोटाङको साकेला गाउँपालिका–२, रतन्छाका बासिन्दा गीतकार राई रोजगारीको सिलसिलामा हालः दक्षिण कोरियामा छन् । २०७६ सालमा ‘अनुभूति’ गीति एल्बम सार्वजनिक गरिसकेका उनी ‘वर्ष गीतकार पुरस्कार २०७८’ बाट समेत सम्मानित भएका थिए ।

Skip This
Skip This
Logo