भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछः राष्ट्रपति पौडेल

भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछः राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन्। उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताएका हुन्।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक संमृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताए।

‘आर्थिक संमृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त हो। हाम्रो अन्तर्राष्ट्रिय प्रतिवद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताका अनुरुप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमान्दार र पारदर्शी बनाउन आवश्यक छ,’उनले भने।

राष्ट्रपति पौडेलले अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठूलो भ्रष्टाचारमा मुछिएकाहरु भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुने गरी काम गर्न आग्रह गरे। भ्रष्ट प्रवृत्तिले मुलुकको विकासमात्रै नरोकिएर बरु नैतिक धरातल नै गिरेर जाने उनको भनाइ छ।

‘भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको उन्नतिमा अवरोध सिर्जना गर्ने मात्रै होइन, राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउन सक्छ। तसर्थ भ्रष्टाचार नियन्त्रणकालागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु हो,’उनले भने, ‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ, भ्रष्टाचारको सम्भावना त्यति नै कम हुन्छ।’ उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ठोस् कदम चाल्न आवश्यक रहेको बताए।

Skip This
Skip This
Logo