३४ जिल्लाका गर्भवती तथा सुत्केरी आमालाई निःशुल्क हवाईसेवा

३४ जिल्लाका गर्भवती तथा सुत्केरी आमालाई निःशुल्क हवाईसेवा

केन्द्रबिन्दु
0
Shares

गर्भवती तथा सुत्केरी आमालाई जुम्लामा निःशुल्क हवाईसेवा प्रदान गरिने भएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था भएअनुरूप जुम्लामा पनि पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिकरूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको हो। लगातार लामो प्रसव बेथा लागी बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात अत्यधिक रक्तश्राव भएको अवस्थामा पूर्णरूपमा निःशुल्क हवाईसेवामार्फत उद्धार गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले रक्तअल्पता भएका गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई अब सहजैरूपमा निःशुल्क हवाईसेवाबाटै उद्धार गरिने बताइन् ।

‘अब ग्रामीण क्षेत्रमा सुत्केरी तथा गर्भवती महिलालाई ज्यानको जोखिम परेको खबर आउनेबित्तिकै उद्धार गर्न सकिने अवस्था छ, ’प्रजिअ बञ्जाडेले भनिन्, ‘दुर्गमका कुनै पनि जोखिमखालका गर्भवती सुत्केरी स्वास्थ्य उपचार अभावमा मृत्युका मुखमा पर्नबाट बच्न सफल हुनेछन्।’

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको पायक पर्ने अस्पतालमा पु¥याइने व्यवस्था मिलाइएको छ। ‘यो कार्यक्रमलाई लक्षित गर्दै प्रत्येक वडामा हेलिप्याड बनेका छन्,’ प्रजिअ बञ्जाडेले भनिन् ।

जुम्लासँगै हिमाली र पहाडी क्षेत्रका दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, हुम्ला, डोल्पा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, पूर्वीरुकुम, रुकुमपश्चिम, सल्यान र रसुवामा हवाई उद्धार कार्यक्रम लागू गरिएको छ।

त्यस्तै, सिन्धुपाल्चोक, धादिङ, गोरखा र बागलुङ जिल्लामा आंशिकरूपमा लागू भएको छ।

Skip This
Skip This
Logo