काठमाडौं,
शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नु पर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरू एक वर्ष कार्यकाल बढाउन तयार भएका छन् ।
सभापति देउवासहित संस्थापन पक्ष मात्र होइन, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका असन्तुष्ट पक्ष विधान अनुसार महाधिवेशन गर्न कार्यकाल थप गर्नुपर्ने पक्षमा छन् । तर कार्यकाल बढाउने कुरा अलोकप्रिय हुने निष्कर्षमा रहेका दुवै पक्षले कार्यकाल बढाउने विषयमा मुख खोलेका छैनन् ।
पार्टी शीर्ष नेताहरूबीच नै बढ्दो अविश्वासका बीच असन्तुष्ट पक्ष थपिएको समयमा महाधिवेशन हुने सुनिश्चितता खोजिरहेको छ भने संस्थापन पक्ष पनि महाधिवेशन गराउन अर्को पक्षबाट सहयोग पाउनेमा आश्वस्त हुन सकेको छैन ।
एक वर्ष कार्यकाल थप गर्नुपर्छ भन्नेमा संस्थापन र इतर दुवै पक्ष तयार रहेको केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले बताए। ‘त्यसभित्र महाधिवेशन होस् भन्ने सबैको चाहना छ तर नेताहरूबीचको विश्वासको संकट देखिएको छ,’ उनले भने। पार्टीका नेता पौडेलसहित असन्तुष्ट पक्षले समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै आए पनि विधान वर्तमान व्यवस्था अनुसार पनि बाँकी आठ महिनामा १४ औं महाधिवेशन सम्भव नरहेको संस्थापन पक्षको दाबी छ ।
‘चर्चामा आउन बाहिर जे भने पनि हुन्छ तर विधानले नै महाधिवेशन हुनु एक वर्ष पहिला नै स्थानीयतहको अधिवेशन गर्नुपर्छ,’ सभापतिनिकट एक नेताले भने, ‘उहाँहरू (असन्तुष्ट पक्ष) ले भने अनुसार विधान अनुसार आठ महिनामा कसरी महाधिवेशन सम्भव छ त ?’ कांग्रेस महाधिवेशनका क्रममा सबैभन्दा विवादित क्रियाशील सदस्यता हो । नयाँ सदस्यता वितरण, नवीकरणसहित अध्यावधिक गर्ने काम कांग्रेसका लागि विगतमा सबैभन्दा चुनौतीपूर्ण बन्दै आएको छ । सदस्यता वितरण र नवीकरणको काम तत्काल सुरु गर्ने हो भने पनि बाँकी समयमा कांग्रेसले सदस्यताको टुंगो लगाउन मात्र सक्नेछ ।
नागरिकबाट































प्रतिक्रिया