रहस्यमयी महाभारतका अद्भुत रहस्यहरू

रहस्यमयी महाभारतका अद्भुत रहस्यहरू

केन्द्रबिन्दु
0
Shares

  • दीपक दर्शन-

महाभारतमा थुप्रै घटना, सम्बन्ध र ज्ञानविज्ञानका रहस्यहरु समाहित छन् । महाभारतका हरेक पात्र जीवन्त छन् चाहे ती कौरव हुन् वा पाण्डव, कर्ण हुन् वा कृष्ण, चाहे द्रोणचार्य, अश्वत्थामा, धृष्टद्युम्न, शल्य, विदुर, भीष्म, भुरिश्रवा, सात्यकी, जरासन्ध, अभिमन्यु, घटोत्कच, शिखण्डी वा कृपाचार्य नै किन नहोऊन् ।

महाभारत योद्धाहरूको गाथामा मात्र सीमित छैन । महाभारतमा श्राप, प्रतीज्ञा र आशीर्वादका रहस्यहरू पनि लुकेका छन् । के के छन् त त्यस्ता रहस्य ?

उठान

महाभारतका सबै प्रमुख योद्धाहरु कसै न कसैका अवतार थिए । हरेक योद्धा विचित्र शक्तिले सम्पन्न थिए । महिला हुन् वा पुरुष सबै पात्र अनौठा विशेषताले भरिपूर्ण थिए ।

महाभारतका कतिपय योद्धा (अश्वत्थामा, कृपाचार्य) आजसम्म पनि जीवित छन् भनिन्छ । कौरवहरूको जन्म पनि रहस्यले भरिएको छ । कौरव तथा पाण्डव न धृतराष्ट्र न त पाण्डुका सन्तान थिए । महाभारत कालमा विमान एवं परमाणु अस्त्रको समेत प्रयोग भएको थियो । महान् योद्धा बर्बरीक एवं घटोत्कचको रहस्य पनि कम्ती अनौठो छैन । महाभारतका पात्रहरूको आपसी नातासम्बन्ध पनि एकदमै अचम्मसँग जेलिएको पाइन्छ । यो युद्ध आफन्तका बीच भएको युद्ध थियो । महाभारत युद्ध कुरुक्षेत्रमै लड्नुका पछाडि पनि कारण थियो ।

महाभारतका धेरै घटना कुनै न कुनै श्रापका कारण घटित भएको थियो । महाभारतको युद्धमा निश्चित नियम बनाइएको थियो, जब कौरव पक्षबाट अभिमन्युलाई मारेर नियम तोडियो, त्यसपछि त त्यसको शृंखला नै चल्यो र यसको बढी फाइदा पाण्डव पक्षले उठायो । युद्धको अन्त भएको केही दिनपछि सारा योद्धा एक रातका लागि जीवित भएका थिए । कुरुक्षेत्रको युद्ध अन्त भएको केही वर्षपछि यादव कुलको विनाश गर्ने मुसल युद्ध भयो । यसरी वेदव्यासद्वारा लिखित महाभारत रहस्यहरूको खानी हो भन्न सकिन्छ ।

अचम्मको रहस्य

सबैभन्दा ठूलो रहस्य उक्त युद्धमा मारिएका भनिएको लाखौं मानिसको लाश कहाँ पुग्यो वा के भयो भन्ने विषयमा छ । भनिन्छ, महाभारत युद्धका कारण कुरुक्षेत्रमा यति धेरै रगत बगेको थियो कि त्यहाँको माटोको रंग आजसम्म पनि रातो छ । त्यसरी माटै रातो हुने गरी रगत बगेको युद्धमा लाखौं योद्धाहरूकोे लासको अवशेष समेत नपाइनु आश्चर्यजनक कुरा हो । भनाइअनुसार जुन दिन जति पनि योद्धाहरू मर्दथे तीमध्ये अधिकांशको शव उनीहरूको आफन्तलाई जिम्मा लगाइन्थ्यो भने बाँकी त्यहीँ रहिरहन्थ्यो । युद्धको अन्तमा युधिष्ठिरको आज्ञाले कुरुक्षेत्रको भूमिमा एउटा पनि शव नरहने गरी जलाइएको थियो ।

अर्को रहस्य के छ भने प्रतिदिन लाखौं मानिसका लागि युद्धभूमिको नजिकै एक शिविरमा भोजन बन्दथ्यो । युद्धको सुरुआत हुने दिन कौरव र पाण्डव दुवैतर्फका गरी १८ अक्षौहिणी अर्थात् लगभग ४५ लाखभन्दा बढी मानिसका लागि भोजन तयार गरिएको थियो । यसपछि प्रतिदिन जति पनि योद्धा मर्दथे त्यही अनुपातमा खाना पनि कम नै बनाइन्थ्यो, खानेकुरा कहिल्यै धेरै वा कम हुँदैनथ्यो । तर अचम्म लाग्दो कुरा के छ भने आज कतिजनाका लागि भोजन बनाउनुपर्छ भन्ने कुरो कसरी थाहा हुन्थ्यो ? यस विषयमा भनाइ के छ भने युद्धमा भोजनको व्यवस्था उडुपीका राजाले गर्दथे, उनी हरेक दिन बेलुका जब श्रीकृष्णलाई भोजन गराउँथे । भोजनका समयमा श्रीकृष्णले खाएको हेरेर भोलिपल्ट कतिजना योद्धा मर्दै छन् भन्ने कुरा उनी थाहा पाउँथे । यो कुराको जनाउ दिन श्रीकृष्ण प्रतिदिन उसिनिएको बदाम वा चामल खान्थे । त्यसै आधारमा राजाले कतिजनाका लागि खाना बनाउनुपर्ने हो भन्ने कुरा पत्ता लगाउँथे । यसरी श्रीकृष्णका कारण हरेक दिन सैनिकहरूले टन्न खान पाउँथे भने एक दाना अन्न पनि खेर जाँदैनथ्यो ।

अर्को रहस्य के भने यस युगमा सत्ययुगका राजा मुचुकुन्द, इन्द्र आदि, त्रेतायुगका परशुराम, जाम्बवन्त तथा हनुमान आदि जीवित थिए । भगवान शिव तथा ब्रह्मासमेत थिए भने श्रीकृष्ण त स्वयं विष्णुकै अवतार भइहाले ।

नरोकिइकन लेखिएको थियो महाभारत

महाभारतको रचना महर्षि वेदव्यासले गरेका थिए भने यसलाई लेख्ने काम भगवान श्रीगणेशले गरेका थिए । भगवान श्रीगणेशले आफ्नो कलम रोकिन नहुने शर्तमा महाभारत लेखेका थिए । त्यतिखेर महर्षि वेदव्यासले पनि आफूले भनेका कुराको अर्थ बुझेर मात्र लेख्नुपर्ने शर्त गणेशजीका अगाडि राखेका थिए । यसैकारण हरेक हजार श्लोकका बीचमा वेदव्यास दोहोरो अर्थ लाग्ने एक कूटश्लोक घुसाइदिन्थे, त्यसको अर्थ बुझ्न गणेश केही बेर रोकिएका बेला व्यासले हजार श्लोक बनाइसक्थे ।

कूटश्लोकको एक नमुना

युधिष्ठिरस्य या कन्या नकुलेन विवाहिता । पूजिता सहदेवेन सा कन्या वरदा भवेत् ।।

यसको सोझो अर्थ हुन्छ– युधिष्ठिरकी जुन छोरीको विवाह नकुलका साथ भएका थियो र सहदेवसहित जसको पूजा गरिएको थियो ती कन्या हाम्रा लागि वरदायिनी होऊन् । यो अनर्थपूर्ण छ ।

यो श्लोकको वास्तविक अर्थ यस्तो हुन्छ– युधिष्ठिर (हिमालय) की जुन छोरीको विवाह नकुल (महादेव) का साथ भएको थियो र (महा)देवका साथ जसको पूजा गरिएको थियो ती कन्या (पार्वती) हाम्रा लागि वरदायिनी होऊन् ।

महाभारत ग्रन्थ पूरा भइसकेपछि त्यसको पहिलो वाचन महर्षि वेदव्यासका शिष्य वैशम्पायनले राजा जनमेजयको सभामा गरेका थिए । राजा जनमेजय अभिमन्युका नाति तथा परीक्षितका पुत्र थिए । जसले आफ्नो पिताको मृत्युको बदला लिने उद्देश्यले सर्पयज्ञको आयोजना गरेका थिए ।

२८औं वेदव्यासले लेखेका थिए महाभारत

महाभारत वेदव्यासले लेखेका थिए भन्नु पनि आधा सत्य हो । वेदव्यास कुनै एकजनाको नाम नभई एक उपाधि थियो जुन उपाधि सम्पूर्ण वेदको ज्ञान भएका व्यक्तिलाई दिइन्थ्यो । कृष्णद्वैपायन व्यासभन्दा अघि २७ जना वेदव्यास भइसकेका थिए, कृष्णद्वैपायन २८ औं वेदव्यास थिए । केही काला वर्णका तथा टापुमा जन्मिएका हुनाले उनको नाम कृष्णद्वैपायन राखिएको थियो ।

१८ अंकको रहस्य

महाभारतमा १८ अंकको ठूलो महत्व छ । महाभारत पुस्तकमा १८ अध्याय छ । कृष्णले जम्मा १८ दिनसम्म अर्जुनलाई गीता ज्ञान दिएका थिए । कृष्णका कुलको १८ समुदायले मात्र मथुराबाट पलायन गरेका थिए । महाभारतको युद्ध पनि १८ दिनसम्म चलेको थियो । महाभारतअन्तर्गत पर्ने गीतामा पनि १८ वटै अध्याय छन् । कौरव पक्षका ११ तथा पाण्डव पक्षका सात गरी जम्मा १८ अक्षौहिणी सेनाले महाभारत युद्ध लडेका थिए । यस युद्धका प्रमुख सूत्रधार पनि १८ जना थिए । युद्धपश्चात् जम्मा १८ जना योद्धा जीवित बचेका थिए ।

प्रमुख सूत्रधार

युद्धका प्रमुख सूत्रधार थिए– धृतराष्ट्र, दुर्योधन, दुःशासन, कर्ण, शकुनि, भीष्म, द्रोण, कृपाचार्य, अश्वत्थामा, कृतवर्मा, श्रीकृष्ण, युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव, द्रौपदी एवं विदुर । महाभारत युद्धपश्चात कौरवका तर्फबाट कृपाचार्य, कृतवर्मा र अश्वत्थामा गरी जम्मा तीनजना तथा पाण्डवका पक्षमा युधिष्ठिर, अर्जुन, भीम, नकुल, सहदेव, कृष्ण, सात्यकि, युयुत्सु आदि गरी जम्मा १८ योद्धा जीवित रहेका थिए । महाभारत युद्धमा एक मात्र जीवित धृतराष्ट्र पुत्र युयुत्सु थिए जो युद्ध सुरु हुने दिन मात्र पाण्डव पक्षमा गएका थिए ।

महाभारतका प्रमुख श्राप

महाभारतमा श्राप तथा वरदान उल्लेख्य मात्रामा प्रयोग भएको पाइन्छ । श्रापको कुरा गर्दा राजा शान्तनु पूर्वजन्ममा महाभिष नामका राजा थिए । ब्रह्माको सेवामा उपस्थित भएका बखत उनी गंगाप्रति मोहित भए । अनि ब्रह्माले रिसाएर उनलाई मनुष्य योनीमा जन्मिएर दुःख झेल्नुपर्ने श्राप दिएका थिए भने गंगालाई पनि पृथ्वीमा गएर जन्म लिनुपर्ने श्राप दिएका थिए । यसैगरी वशिष्ठ ऋषिले आफ्नो गाईको दूध चोरेर खाएको निहुँमा आठ वसुलाई मनुष्य योनीमा जन्म लिने श्राप दिएका थिए, जसमध्ये एकलाई लामो समयसम्म पृथ्वीमा बस्नुपर्ने श्राप दिएका थिए र उक्त श्राप पाउने व्यक्ति गंगापुत्र देवव्रत अर्थात् भीष्म पितामह थिए ।

राजा पाण्डुलाई ऋषि किन्दमले सहवास गरेका खण्डमा मर्ने श्राप दिएका थिए । कर्णलाई गुरु परशुरामले, अर्जुनलाई उर्वशीले, कृष्णलाई गान्धारीले तथा अश्वत्थामालाई कृष्णले श्राप दिएका थिए । यसैगरी महर्षि मैत्रेयले दुर्योधनलाई, द्रौपदीले घटोत्कचलाई, दुर्वासा ऋषिले कृष्णपुत्र साम्बलाई, युधिष्ठिरले समस्त महिला जातिलाई, व्यासले काशी नगरीलाई, माण्डव्य ऋषिले यमराजलाई, द्रौपदीले कुकुरलाई तथा राजा परीक्षितलाई शमीक ऋषिले श्राप दिएका थिए ।

प्रमुख सूत्रधार श्रीकृष्ण

महाभारत युद्धका प्रमुख सूत्रधार श्रीकृष्णसँग आठ अंकको संयोग अचम्मको छ । भविष्यवाणीअनुसार विष्णुले देवकीको गर्भबाट कृष्णका रुपमा जन्म लिए । विष्णुले आफ्नो आठौं अवतारका रूपमा आठौं मनु वैवस्वतको मन्वन्तर २८औं द्वापरमा भाद्र कृष्ण अष्टमीका दिन रातको आठौं मुहूर्तमा जन्म लिएका थिए । त्यस लग्नमा केवल शुभ ग्रहको दृष्टि थियो । रोहिणी नक्षत्र तथा अष्टमी तिथिको संयोगका दिन जयन्ती नामक योग बनेको थियो । उक्त दिन लगभग ३११२ ईसा पूर्व (अर्थात् आजभन्दा ५१२६ वर्ष पहिले) थियो । ज्योतिषिहरूका अनुसार रात १२ बजेको उक्त समय शून्य काल थियो । श्रीकृष्णका आठ पटरानी थिए । उनको जीवनमा आठ नगर मथुरा, गोकुल, गोवर्धन, वृन्दावन, अवन्तिका, हस्तिनापुर, द्वारका एवं प्रभाष क्षेत्रको विशेष महत्व रह्यो ।

महाभारत युद्ध केवल कृष्णबाट सञ्चालित थियो । महाभारतका प्रत्येक घटनाका सूत्रधार उनी नै देखिन्छन् । दुर्योधनलाई आमाका अगाडि नग्नावस्थामा जान रोक्नु, कर्णको कवच कुण्डल इन्द्रद्वारा दान माग्नु, बर्बरीकसँग वरदानका रूपमा उसको टाउको माग्नु, अनेक उपाय लगाएर कौरव पक्षका कर्ण, द्रोण तथा भीष्म, जयद्रथ आदिलाई मराउनु श्रीकृष्णकै नीतिकुशलताको परिणाम थियो । समग्रमा भन्दा श्रीकृष्णकै कारण वा प्रेरणामा महाभारत युद्ध भयो । कृष्णले नै पाण्डव पक्षलाई महाभारत युद्ध जिताएका थिए ।

Skip This
Skip This
Logo