काठमाडौं,
हिमालमा बस्ने तिलहरी चरा यतिबेला बचेरा हुर्काउन व्यस्त छन् । फुस्रो खरानी रङको यो चराको घाँटीमा महिलाले तिलहरी लगाएझैँ कालो रङले घेरिएकोे हुन्छ ।
रातो लामो चुच्चो (ठुँडो) र रातै खुट्टाले अरूभन्दा फरक देखिन्छ । त्यसैले पनि यसको नाम तिलहरी चरा भन्ने गरिन्छ । बढ्दो तापक्रमका कारण तिलहरीलाई बचेरा कोरल्नै हम्मे पर्ने गरेको छ । करिब चार हजारदेखि चार हजार दुई सय मिटरमाथिका हिमाली भेगका हिउँ नदी छेउछाउ र खुला टापुमा यिनले अण्डा पार्छन् । तापक्रम बढ्दै जाँदा तिलहरीको जीवनचर्यामै असर परेको चरा अध्ययनकर्ता बताउँछन् ।
चराविद् डा. हेमसागर बरालले भन्नुभयो, “हिउँ नदीको बहाब बढ्दा र हिउँ पग्लेर हिउँपहिरो जाँदा तिलहरीका अण्डा पुरिने र बगाउने गरेको छ, कतिपय बेला बचेरा नै पनि बगाइदिने गरेको पाइएको छ । ” जलवायु परिवर्तनको असर परेमा यो चरालाई त्योभन्दा माथि जाने ठाउँ छैन, तल झर्न सक्दैन, त्यसैले अनुकूलनमै पनि तिलहरीलाई समस्या परेको उहाँ बताउनुहुन्छ । त्यसैले भविष्यमा यो लोप हुने अवस्थामा पुग्न सक्ने खतरा बराल औँल्याउनुहुन्छ ।
तिलहरीका बारेमा दुईपटक अध्ययन भइसकेको छ । प्रजनन गर्ने बेला तिलहरीलाई अन्य बेलाभन्दा बढी आहारा जरुरत पर्छ । बचेरा कोरलेपछि पनि आहारा बढी चाहिन्छ । तापक्रम वृद्धिले हिमालका नदी र तलाउमा हुर्कने कीरा तथा लार्भाको प्रजनन र हुर्काइ ढिला वा चाँडो हुँदा तिलहरीको आहरमा सङ्कट आउने गरेको अर्का चराविद् डा. तुलसी सुवेदी बताउनुहुन्छ ।
उहाँका अनुसार बच्चा अलिक हुर्केपछि हिउँदताका भने तिलहरी जाडोका कारण करिब नौ सय मिटर आसपास स्थानमा बसाइँ सर्छ । तिलहरीको सङ्ख्या नेपालमा २५० आसपास रहेको अनुमान छ । हिमाली भेगमै पाइने हिउँ कुखुरा पनि बढ्दो तापक्रमका कारण सङ्कटमा परेको छ । ठूलो डाँफेलाई पनि तापक्रम बढेपछि अझ माथिल्लो भेगमा जानुपर्ने बाध्यता आइपरेको चराविद् बरालको निष्कर्ष छ ।
मौसमको उतारचढावले कहिले बढी पानी पर्ने, कहिले असिना पर्ने, बाढी आउने क्रम रहँदा पनि सहजताका लागि चरा पहिलेको थातथलो छाडेर सुरक्षित स्थानमा जान थालेको पाइएको उहाँले बताउनुभयो । तराईमा बस्ने झोडे गोकुल जातको कोइली काठमाडौँमा धेरै देखिन थालेको छ । तराईमा बस्ने जुन बकुलाको एक प्रजाति पोखराका पहाडमा देखिन थालेका छन् ।
गोरखापत्रबाट































प्रतिक्रिया