काठमाडौं,
अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ । अति संक्रमक र घातक इबोला भाइरसले अफ्रिकामा सन् १९७६ मा पनि हजारौंको ज्यान लिएको थियो ।
पटकपटक अफ्रिकी महादेशलाई सताउँदै आएको इबोला भाइरस पछिल्लो समय कङ्गोमा व्यापक रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोलाको पछिल्लो संक्रमणलाई तत्काल सम्बोधन गर्नुपर्ने स्वास्थ्य समस्या भन्दै विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ । इबोला संक्रमित व्यक्तिको मृत्यु हुने सम्भावना करिब ५० प्रतिशत रहेको डब्लुएचओको भनाई छ । यो भाइरस ज्यादै संक्रामक हुन्छ र यसलाई नियन्त्रणमा ल्याउन निकै कठिन हुन्छ, खासगरी शहरी इलाकाहरुमा ।
यो भाइरस जंगली जनावरबाट मानिसमा सर्दछ र इबोला भएका मानिसलाई छोएमा वा सम्पर्कमा आएमा अर्को मानिसमा अझ तीब्र गतिमा सर्दछ । संक्रमित व्यक्तिको रगत, शरीरका अन्य तरल पदार्थ, शरीर वा शरीरका अरु अंगबाट निस्कने वस्तु सोझै छोएमा पनि यो रोग सर्दछ । इबोला खासगरी चमेरोमा पाइन्छ, तर चमेरोलाई इबोलाले केही गर्दैन बरु अरुमा यो जीवाणु सार्दछ । चिम्पान्जी, गोरिल्ला, बाँदर, मृग र दुम्सी पनि इबोला भाइरसबाट संक्रमित भएका हुन सक्छन् । यी जनावरको शिकार गर्ने र खाने व्यक्ति पनि इबोलाबाट संक्रमित हुन सक्छन्।
इबोला संक्रमित व्यक्तिलाई २ देखि २१ दिनको अवधिमा मात्र लक्षण देखा पर्न थाल्दछ । यस्ता रोगग्रस्त व्यक्तिलाई उच्च ज्वरो आउने, शरीर थकित हुने, मांसपेशी र जोर्नी दुख्ने, टाउको दुख्ने र घाँटीमा असजिलो हुने गर्दछ । साथै झाडावान्ता हुने, छालामा घाउहरु देखिने, मृगौला र कलेजोले काम नगर्ने तथा शरीरको भित्री भागमा रक्तस्राब हुने डब्लुएचओले जनाएको छ।
उपचार गरी कुनै इबोला पीडित व्यक्ति स्वस्थ भए पनि आजीवन त्यस्ता व्यक्तिमा आर्थराइटिस हुने, आँखाको दृष्टि कमजोर हुने, आँखा सुन्निने तथा सुन्ने क्षमता कमजोर हुने गर्दछ ।
हाल इबोलाको रोकथाम वा उपचारका लागि कुनै आधिकारिक औषधी पत्ता लागेको छैन । तर अनुसन्धान प्रयोजनका लागि केही औषधी चलनचल्तिमा ल्याइएको छ । गत अगष्टदेखि यता दशौं पटक इबोला देखिएसँगै स्वास्थ्य निकायहरुले पहिलो पटक ठूलो मात्रामा आरभीएसभी–जेबोभ नामको खोप प्रचलनमा ल्याएका छन् । मर्क प्रयोगशालाले विकास गरेको यो खोपले लाइसेन्स पाएको छैन तर यो निकै सुरक्षित र प्रभावकारी देखिएको छ । डब्लुएचओले यस खोपको उत्पादन बढाउन र प्रयोगमा ल्याउन आग्रह गरेको छ । डब्लुएचओका विज्ञहरुले जोन्सन एन्ड जोन्सनले विकास गरेको एमभीए–बीएन खोप पनि प्रयोगमा ल्याउन सुझाएका छन् ।
रासस





























प्रतिक्रिया