पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा !

पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व सञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको हो । विभागले सो रकम झिक्न नमिल्ने बनाएर अनुसन्धान थालेको छ । बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ ।

सहकारीमा जम्मा गरेको रकमको स्रोत नभेटिएको भन्दै विभागले अध्ययन थालेको हो । सहकारीमा बस्नेतको गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति देखिएको भन्दै विभागले बयानका लागि बस्नेतलाई बोलाउने तयारी गरेको छ ।

विभागले वित्तीय जानकारी एकाइमार्फत बस्नेतको ६१ करोडको स्रोत नखुलेको रकमबारे उनका परिवार र नातेदारमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ । महाबौद्धमा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट व्यापार गर्ने व्यापारीका गोदाम छन् ।

सहकारी विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले प्रणामी सहकारीमा स्रोत नखुलेको रकमबारे विभागमा जानकारी आइनसकेको बताए । पछिल्लो समयमा विभागले सहकारीमा सम्पत्ति शुद्धीकरण निर्देशिका कार्यान्वयन भए/नभएको अनुगमन गर्दै आएको छ । विभागले गत आर्थिक वर्षमा १५ वटा सहकारीमा सम्पत्ति शुद्धीकरणबारे अध्ययन गरेको थियो ।

राम्रा भनिएका र विभिन्न क्षेत्रबाट गुनासा तथा उजुरी आएका आधारमा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका १५ वटा सहकारीको गत आवमा अनुगमन भएको थियो । यस क्रममा काठमाडौंका ६, काभ्रे, ललितपुर र भक्तपुरका तीनतीनवटा सहकारीको अनुगमन गरिएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo