अवैध सम्बन्ध लुकाउन मान्छेले जस्तोसुकै अपराध गर्न पनि पछि पर्दैन भन्ने उदाहरण पोखरामा भेटिएको छ ।
पोखरा–१५,कान्तिपुरचोकमा बस्दै आएका ३३ वर्षीय रमेश नेपालीले साली नाता पर्ने २९ वर्षीय अनु नेपालीसँग प्रेम सम्बन्ध लुकाउन आफ्नै श्रीमतीको हत्या गरेका हुन् । गत असार १ गते २७ वर्षीया लक्ष्मी नेपाली हराएकी थिइन्।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले यस्तो तथ्य फेला पारेको हो। कास्की प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘हत्या रमेशले नै गरेको हो।’
घटना विवरण
प्रेमिका अनुको आग्रहमा रमेशले पोखराको पृथ्वीचोकमा मोवाइल पसल संचालन गर्दै आएका सर्लाही ईश्वरपुर–तिनघरियाका चित्राञ्जन साह र भोजपुर–५ घर भई पोखराको महेन्द्रपुलमा मोवाइल पसल गर्ने संजय शर्मासँग श्रीमतीको हत्या गर्ने योजना बुनेको पाइएको छ। रमेशकै आग्रहमा साहले भारत पुगेर ३ जना पेशेवर हत्यारा खोजेका थिए।
उनीहरुले पोखरा–२२ को कर्कले भन्ने ठाउँको जंगलमा लक्ष्मीलाई लैजाने र मार्ने योजना बनाए। योजना अनुसार रमेशले पेशेवर हत्यारालाई पेश्कीस्वरुप १ लाख रुपैयाँ दिए। रमेश भने खुट्टामा एलर्जी भएकी श्रीमतीलाई ‘जाऊँ घाउमा लगाउने जडिबुटी खोजौँ’ भन्दै जंगल लिएर गए । जंगलमा केही जडिबुटी खोजेजस्तो पनि गरे। त्यस्तैमा उनले अकस्मात मलाई पिसाब लाग्यो तिमी खोज्दै (जडिबुटी ) गर भनेर आफू अर्कैतिर लागे। त्यत्तिकैमा पहिल्यै जंगलमा लुकेका पेशेवर हत्याराले सलले मुख बाँधेर, घाँटी रेटेर लक्ष्मीको हत्या गरे अनि शव लुगासहित पुरेर हिँडे ।हत्यापछि रमेशले ५ लाख रुपैयाँ हत्यारालाई दिए र बाँकी ४ लाख साहमार्फत पछि दिने भनेर हिँडे ।
रमेश भने आफ्नी श्रीमती हराएको उजुरी बोकेरजिल्ला प्रहरी कार्यालय पुगे । अनुसन्धानका क्रममा प्रहरीले हत्यामा श्रीमानकै संलग्नता भएको पत्ता लगायो र रमेशलाई असार २५ गते पक्राउ गर्यो ।
अहिले ‘कन्ट्रयाक्ट किलर’ हरु फरार छन् भने साह र शर्मा थुनामा छन् ।





























प्रतिक्रिया