राष्ट्रिय सभामा सांसदको अनुभवः ‘देश तथा जनताको पक्षमा काम गर्न सकियो भन्ने लाग्छ’

राष्ट्रिय सभामा सांसदको अनुभवः ‘देश तथा जनताको पक्षमा काम गर्न सकियो भन्ने लाग्छ’

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आफ्नो कार्यकालको अनुभव सुनाउँदै सभाको गरिमा बढाउनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। सांसद अनिता देवकोटाले राष्ट्रिय सभा विज्ञ र स्थायी सभा भएकाले देश तथा जनताको पक्षमा काम गर्न सकेको धारणा राखेकी हुन्।

उनले कुन सांसदले कति वटा पुल बनाए? कति किलोमिटर सडक निर्माण गरे ? भन्ने आधारमा मूल्याङ्कन गर्न नहुने बताए। “के कस्ता राम्रा कानून निर्माण गरे र त्यसमा के कस्तो भूमिका निर्वाह गरे भन्ने आधारमा मूल्याङ्कन गरिनु राम्रो हुन्छ”, उनले भने।

सांसद भैरवसुन्दर श्रेष्ठले संविधानले प्रदत्त गरेका मौलिक हक कार्यान्वयनमा जान नसकेको तथा आवश्यक कानून निर्माण हुन नसकेकाेमा गुनासो गरे। उनले कर्णाली प्रदेशको विकास र समृद्धिको अभियानलाई थप व्यवस्थित बनाउन र यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।

सांसद जीतेन्द्रनारायण देवले संविधान निर्माणका क्रममा राष्ट्रिय सभाका सन्दर्भमा उठेको विषयलाई स्मरण गराउँदै पार्टीका शीर्ष नेताहरुको धारणा स्पष्ट हुन नसकेको गुनासो गरे। उनले राष्ट्रिय सभाको काम कारबाहीबारे सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै प्रतिनिधिसभाको बैठक चलेका दिन आफूहरुको काम कारबाहीको समाचार कम आउने गरेको बताए।

सांसद रमेशजङ्ग रायमाझीले राष्ट्रिय सभाले सहजरुपमा कानून निर्माण गरेको, समितिले पनि प्रभावकारी काम गरेको जानकारी दिँदै आफूले सदनमा जनताको पक्षमा नै उभिने प्रयास गरेको बताए। संविधान र सङ्घीय शासन प्रणालीलाई कार्यान्वयन गराउनका लागि आफूले सकेसम्म भूमिका निर्वाह गरेको उनको भनाइ छ।

सांसद रामचन्द्र राईले जनसरोकारका विषयमा आफूले इमान्दार भएर आफ्ना कुरा राखे पनि सरकारको तर्फबाट सम्बोधन हुन नसकेको बताए। सांसद बिना पोखरेलले आफ्नो कार्यकालमा देश र जनताको पक्षमा सकेसम्म भूमिका निर्वाह गर्ने प्रयास गरेको बताइन्। सांसद डा विमला राई पौड्यालले राष्ट्रिय सभालाई सिकाइको एउटा विश्वविद्यालयको संज्ञा दिँदै आफूले धेरै कुरा सिक्न पाएको बताइन्।

Skip This
Skip This
Logo