करिव एक सातादेखि भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परि ७८ जनाले ज्यान गुमाएका छन् । मंगलबार साढे १२ बजेसम्म ७८ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयले झापामा ३, मोरङमा २, सुनसरीमा २, पाँचथरमा १, भोजपुरमा ५, इलाममा १, ओखलढुंगामा ४ जनाको मृत्यु भएको जनाएको छ। त्यस्तै, खोटाङमा ३, उदयपुरमा १, महोत्तरीमा ४, धनुषामा ४, सिराहामा ४, सर्लाहीमा १, रौतहटमा ९, पर्सामा २, बारामा २, रामेछापमा १, सिन्धुलीमा ४, काभ्रेपलाञ्चोकमा ३ जनाको मृत्यु भएको छ। काठमाडौंमा ३, ललितपुरमा ६, मकवानपुरमा ५, धादिङ्गमा २, पाल्पामा १, दाङ्गमा २, कपिलवस्तुमा १ र डोल्पामा २ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
प्रकोपमा परि ३२ जना बेपत्ता छन् भने ४० जना घाइते भएका छन् । हालसम्म ३ हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ। बाढी पहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएकाे गृह मन्त्रालयले जनाएकाे छ।
गृह मन्त्रालयले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४१ हजार २ सय ४ जनशक्ति परिचालन भएको जनाएको छ। गृह मन्त्रालयले अवरुद्ध सडकहरु खुलाउने प्रयास भइ रहेको र अवरुद्ध विद्युत र सञ्चार सुचारु गर्न तीव्रता दिइएको र नेपाल टेलिकमको सेवा वैकल्पिक तरिकाबाट प्रवाह भएको जनाएको छ।
त्यस्तै गृहले आपत्कालीन उद्धारको लागि हेलिकप्टरहरु तयारी अवस्थामा राखेको र प्रदेश २ मा २ वटा हेलिकप्टरहरुले राहतको कार्य गरिरहेको जनाएको छ । प्रदेश १ को इटहरी र कर्णाली प्रदेशको सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखिएको पनि जनाएको छ ।































प्रतिक्रिया