निर्मला प्रकरण: अदालतद्वारा पत्रकार भण्डारीलाई अनौठो सजाय

निर्मला प्रकरण: अदालतद्वारा पत्रकार भण्डारीलाई अनौठो सजाय

केन्द्रबिन्दु
0
Shares

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस डा. राजेन्द्र आचार्यको एकल इजलाशले यस्तो फैसला सुनाएको हो ।

अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाँय तत्कालका लागि भने स्थगन गरेको छ।  त्यसका लागि अदालतले केही सर्त राखेको छ। जसमा पत्रकार भण्डारीले फेसबुकमा लेखेको स्टाटस हटाउनुपर्ने र आत्मालोचनासहित माफी माग्नुपर्ने उल्लेख छ।  पत्रकार भण्डारीले तीन दिनभित्र यी सर्तहरु पूरा नगरेको खण्डमा एक घण्टा जेलमा बसेर र एक रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

उक्त आदेश तीन दिनको लागि स्थगत गरिएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । ‘पत्रकार भण्डारीले आफ्नो कसुर स्वीकार गर्नुभयो । अदालतले सजायको फैसला तीन दिनको लागि स्थगित गरेको छ ।’ श्रेस्तेदार अवस्थीले भने ।

अब पत्रकार भण्डारीले तिनदिनभित्र अदालतसमक्ष मागेको माफीसहित आत्मआलोचना पत्रिका छाप्नुपर्नेछ । साथै उनलाई तीनदिनभित्र मानहानी हुने गरी फेसबुकमा पोस्ट गरेका स्टाटस डिलिट गर्नुपर्नेछ । यो नगरेको खण्डमा पत्रकार भण्डारीलाई ‘तुच्छ सजाय’ अन्र्तगत एक घण्टाको जेल सजाय र एक रुपैयाँ जरिवाना हुने श्रेस्तेदार अवस्थीले बताए ।

उनीमाथि अदालतले गरेको यो फैसला संसारकै लागि नौलो भएको अधिवक्ताहरुको भनाई छ । उनीहरुले यो सानो सजाय भएपनि ईतिहासको लागि एकदम स्मरणीय हुने दाबी गरेका छन् । अदालतमा विचाराधिन मुद्दामा सञ्चारमाध्यमले कसरी प्रस्तुत हुने भन्ने पनि यो फैसलाले पाठ सिकाउने अधिवक्ताहरुको भनाई छ । नाम नबताउने सर्तमा एक अधिवक्ताले भने, ‘यो सानो सजाय भएपनि ईतिहासकै एक नमुना सजाय हो । एक वर्षको जेल सजाय गरे पनि एक घण्टा सजाय गरेपनि कसुर ठहर गरेको मानिन्छ ।’

पत्रकार भण्डारीविरुद्ध अदालतको अपहेलना गरेको, भ्रामक समाचार सम्प्रेशण गरेको, सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने खालको स्टाटस पोष्ट गरेको भन्दै मुद्दा हालेको थियो  । उनीविरुद्ध अधिवक्ता बिनोद भट्टले पनि मुद्दा हालेका थिए ।

त्यस्तै उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख पूर्व एसपी दिल्लीराज विष्टका छोरा किरणले पनि मुद्दा हालेका थिए  । त्यस्तै उनीविरुद्ध निर्मलाकी साथी समेत रहेका रोशनी बमकी दिदि अनिता बमले पनि मुद्धा दायर गरेकी थिइन् । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

Skip This
Skip This
Logo