काठमाडौँ,
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ । प्रधानमन्त्री समेत रहेका ओलीसँग आइतबार बिहान एक वर्ष अघि नै पार्टीका शीर्ष नेताबीचको सर्वसम्मतिमा तयार पारिएको राजनीतिक प्रतिवेदन आज (सोमबार) नै प्रकाशनमा लैजाने गरी सहमति गरिएको अर्का अध्यक्ष दाहालले जानकारी दिए ।
उनले सो प्रतिवेदन प्रकाशनमा लैजाने सहमति पार्टी एकीकरणको सबैभन्दा ठूलो काम भएको उल्लेख गर्दै खुसी पनि व्यक्त गरे । ‘प्रधानमन्त्री ओली र मेरो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर पनि प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ’, अध्यक्ष दाहालको भनाई थियो, ‘भोलि त्यो प्रकाशनमा जाँदैछ, र पार्टी एकताको सन्दर्भमा त्यो एउटा ठूलो काम हामीले पूरा गरेका छौं, यसले पार्टीको आधिकारिक लाईन सम्बन्धि अन्यौललाई पनि अन्त्य गरिदिएको छ।’
अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रकाशन भएर आएपछि त्यसले पार्टीको आधिकारिक धारणा सम्बन्धी अन्यौल अन्त्य हुने पनि बताए । पार्टी निकट नेपाल दूर संचार राष्ट्रिय कर्मचारी संगठनद्वारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी अधिवेशन एकताको महाधिवेशन हुने र सो महाधिवेशनमा विचार, राजनीति र नेतृत्वको विषय सहमति र समझदारीमै टुंगो लगाउने उल्लेख गरिएको दाबी पनि गरे ।
नागरिकबाट































प्रतिक्रिया