जनकपुरधाम । साधुको भेषधारी शविशंकर दासले साना बालिकामाथि यौन दुव्यर्वहार गर्दै आएको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ स्थित तुलसी स्मारकका पुजारी शिवशंकर दासले बालिकामाथि यौन दुव्यर्वहार गर्दै आएको रहस्य खुल्न आएको हो । मन्दिरमा पुजापाठ गर्ने नाममा दासले बालबालिकालाई निःशुल्क ट्युशनसमेत पढाउने गरेका थिए । ट्युशन पढ्न जाने साना बालिकामाथि उनले दुष्कर्म गरेको रहस्य बाहिर आएको हो ।
रामानन्दीय बैष्णव संघका तत्कालीन अध्यक्ष तथा रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले भारत घर भएका शिवशंकरलाई ५ वर्ष अगाडि तुलसी स्मारकमा पुजाआजा गर्ने जिम्मेवारी दिएका थिए । साधुको भेष धारण गरेका शिव शंकरले पछिल्लो दुई वर्षदेखि बालबालिकाहरुलाई पढाउने नाममा यौन दुर्व्यवहार गर्ने गरेको भन्दै अभिभावकहरुले प्रहरीमा उजुरी दिएका छन् ।
हत्याकाण्डमा वैकुण्ठलाई १२ वर्षको जेल सजाय सुनाइएपछि उनका सहयोगी दुष्कर्मी बाबाको विरोधमा सर्वसाधारणले बोल्न सकेका हुन् । वैकुण्ठ हाल फरार छन् । दासले पढाउने बहानामा अन्य दुईजना बालिकाहरुसँग पनि दुष्कर्मको प्रयास गरेको अभिभावकहरुको दाबी छ ।
शनिबार जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षमा विभिन्न संघसंस्था र साधुसन्तसहितको बैठकले साधुको भेषमा दुष्कर्म गर्ने दासलाई कारवाहीका लागि प्रहरी प्रशासनमा जाने निर्णय गरेको छ । आइतबार धनुषाका प्रहरी उपरीक्षक शेखर खनाललाई साधुसन्त र संघसंस्थाका प्रतिनिधिले ज्ञापन पत्र बुझाएका हुन् ।
उपरीक्षक खनालले पीडित बालिकाहरुको बयानपछि मात्रै ती साधुमाथि अनुसन्धान सुरु हुने भन्दै अभिभावकलाई निवेदन दिन आग्रह गरेका छन्। आफ्नो दुष्कर्म सार्वजनिक भएको थाहा पाएपछि शिवशंकर दास फरार भएका छन् ।





























प्रतिक्रिया