जाजरकोट,
जाजरकोट सदरमुकाम खलंगाका स्थानीयमा झाडापखालाको प्रकोप देखिएको छ ।
स्थानीयले प्रयोग गर्ने पानीमा अत्यधिक मात्रामा ‘इकोलाइ’ नामक कीटाणुका कारण झाडापखालाको प्रकोप देखिएको हो। झाडापखालाबाट महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका छन् ।
सदरमुकाम खलंगाका स्थानीयले प्रयोग गर्दै आएको बुदबुदी मुहानको पानी फोहर भएपछि उनीहरूमा तीन दिनदेखि झाडापखालाको प्रकोप देखिएको जिल्ला अस्पताल जाजरकोटका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशरजंग कार्कीले बताए । उनले खलंगामा आपूर्ति भइरहेको पानीको मुहानमा ‘इकोलाइ’ कीटाणुु भेटिएपछि झाडापखालाको प्रकोप सुरु भएको बताए ।
दैनिकजसो २० देखि २५ जनाका दरले झाडापखालाका बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ । फोहोर पानीका कारण प्रहरी, कारागारका कैदीहरू र अन्य सर्वसाधारण झाडापखालाबाट प्रभावित भएको उनले बताए ।
बिहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको अध्यक्षतामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले पखाला नियन्त्रणका लागि औषधिको पर्याप्त व्यवस्था गर्न जिल्ला अस्पताल लगायतका स्वास्थ्य सस्थाहरूलाई अनुरोध गर्ने र पानी शुद्धीकरणका विधिहरु अपनाउन सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।
१० वर्षअघि जिल्लामा फैलिएको झाडापखालाबाट पौने चार सय स्थानीयको ज्यान गएको थियो ।
नागरिकबाट































प्रतिक्रिया