भैरहवा,
सरकारले सीमानाकामा विषादी परीक्षण अनिवार्य गरेपछि रुपन्देहीको बेलहिया नाका हुँदै हरियो तरकारी आयातमा कमी आएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार विषादी परीक्षणको व्यवस्थाले हरियो तरकारीको आयात करिव ठप्प जस्तै भएको हो ।
रुपन्देहीका हाटबजारमा यसअघि हरियो तरकारी छ्यापछयाप्ती पाइने गरेकोमा अहिले भने स्वदेशमै उत्पादित तरकारी मात्रै पाइने गरेको उपभोक्ताले बताएका छन् । “बजारमा भारतबाट आएको हरियो तरकारी पाइनै छाडेको छ, यहाँका व्यापारीले भने अभाव भएको भन्दै भाउ बढाउन थालेका छन् ”–भैरहवा बुद्धचोक निवासी सुनिता पाठकले भन्नुभयो ।
सीमानाकामा तरकारी बोकेका गाडी रोकिएपछि भारतबाट तत्काल नकुहिने खालका तरकारी आएकाले हरियो तरकारीको आयातमा कमी भएको भन्सारका सूचना अधिकृत कलिराम पौडेलले बताउनुभयो । “बेलहिया नाकामा विषादी जाँच्ने उपकरण नहुँदा काठमाडौं पठाउनुपर्छ, त्यसका लागि केही दिन गाडी नाकामै रोकिन्छन्, हरियो सागसब्जी तत्काल कुहिने संभावना रहन्छ, त्यसैले आयातमा कमी भएको हो”–उहाँले भन्नुभयो ।
विषादी परीक्षणको व्यवस्था अघि हरियो तरकारी नियमित आइरहेको थियो । “अहिले परीक्षण गर्दा हरियो तरकारीमा अलि धेरै विषादी भएको पाइएको छ, उहाँले भन्नुभयो– “नियमित परीक्षण गर्न थालेपछि हरियो तरकारी आउनै छाड्यो ।”
यता, उपभोक्ताले भने भारतबाट तरकारी नआएको मौका छोपेर यहाँका व्यवसायीले भाउ बढाएको गुनासो गरेका छन् । “व्यापारीले जुन तरकारीको गाडी रोकियो भन्ने थाहा पाउँछन्, त्यो वस्तुको मूल्य बढाइहाल्छन्”–उपभोक्ता हित संरक्षण मन्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठकले भन्नुभयो–“यसको नियन्त्रण सरकारले गर्न सकेको देखिएन ।”
अभाव सिर्जना गरेर भाउ बढाउनेलाई कारवाही हुनुपर्ने उहाँले बताउनुभयो । उपभोक्ताका अनुसार रुपन्देहीका हाटबजारमा अहिले तरकारी र फलफूलको मूल्यवृद्धि भएको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया