काठमाडौँ,
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले ९ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो । छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभई व्यक्ति खराब हुँदा त्यस्तो घटना भएको तर्क गर्दै आफ्ना कर्मचारीको बदमासीले गर्दा कमजोरी भएको स्वीकार गर्नुभयो ।
त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले नियतले त्यस्तो नभएको बताउँदै भन्नुभयो, “व्यक्तिका कारण छवि खराब हुनपुग्यो । आइन्दा यी कुरामा सजग हुनेछौँ । ” त्रिविका विद्यार्थी सुरेन्द्र कोइरालाले समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास र राजनीतिकशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका छन् । उनले राजनीतिकशास्त्र बाहेकका विषयमा ६० अङ्कसम्म थप्न लगाएको पाइएको छ ।
त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले संस्थागत त्रुटि नभई व्यक्तिगत त्रुटिका कारण यो घटना भएको बताउनुभयो । अङ्क थपिदिएको आरोपमा परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका कर्मचारी रामु कर्मचारी पक्राउमा परेका छन् ।
मार्कस्लिपमा नौ अङ्क रहेको तर ट्रान्सक्रिप्टमा ६९ अङ्क देखिएपछि त्रिविले नै आन्तरिक छानविन सुरु गरेको थियो । छानविनपछि बदमासी भएको प्रतिवेदन बुझाइएपछि यो घटना सार्वजनिक भएको थियो । यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अख्तियारले ‘इन्ट्री गरिएका मार्कस्लिप’ लिएर गएको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया