काठमाडौं । सत्तारुढ दल नेकपाका सांसदहरुले विवादमा नआउने गरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरोकारवाला निकायसँग पर्याप्त परामर्श गरेर विवादमा नआउने गरी विधेयकलगायतका क्षेत्रमा कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका हुन् । सरकारको काम कार्वाही राम्रो भएपनि कतिपय विधेयकहरु विवादमा तानिएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई पार्टीका सांसदहरुले ध्यानाकर्षण गराएको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।
बैठकमा सांसदहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालमाथि पार्टी एकताको काम छिटो टुंगो लगाएर सरकारको काम कारवाहीलाई अझै सहज बनाउन पनि दवाव दिएका थिए । बैठकमा बोल्ने २९ जना सांसदहरुले सरकारको काम कारवाही सन्तोषजनक रहे पनि त्यसलाई सिंगो पार्टी पंक्तीमा संचार गराउन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि जनाएका थिए ।
बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले असार महिना भित्र पार्टी एकताको बाँकी काम पूरा गर्ने र सरकारको काम कारवाहीलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता जनाएका थिए । असार महिना भित्र पार्टी एकताको बाँकि काम पूरा गर्ने र सरकारको काम कारवाहीलाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता बैठकमा दुवै अध्यक्षले जनाएको प्रमुख सचेतक गुरुङले बताए ।
प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले पार्टीलाई अझै सशक्त बनाएर लैजाने दृढता पनि सांसदहरु समक्ष व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले बैठकमा पार्टीमा विभाजन आउँछकी भन्ने आशंका नगर्न पनि आग्रह गरेका थिए ।
नेकपाको संसदीय दलको बैठक आगामी असार २१ गते शनिबार दिउँसो एक बजे पुनः बोलाइएको छ । आजको बैठकमा सबै सांसदहरुले बोल्ने क्रम नसकिएकाले अर्को बैठक पनि बोलाउने निर्णय गरिएको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिए । बैठक अन्तरक्रियात्मक भएको र त्यसभित्र पार्टी र सरकार दुवैको बारेमा सांसदहरुले नेतृत्वसँग प्रश्न उठाएको पनि नेता पौडेलको भनाई थियो ।
नेकपा संसदीय दलको बैठक विगतमा पार्टीका अध्यक्षद्धय ओली र दाहालले व्रिफिङ गरेपछि टुंगिने गरेको थियो । तर यस पटकको बैठक पार्टीका सांसदहरुको सुझाव लिने गरी आयोजना गरिएको पनि प्रमुख सचेतक गुरुङले बताए ।































प्रतिक्रिया